खेलकूद

मछिन्द्रलाई सहिद स्मारक ‘ए’ डिभिजन लीगको उपाधि

हिमालय टिभी
२०७८ फागुन ४ गते १६:१६
मछिन्द्रलाई सहिद स्मारक ‘ए’ डिभिजन लीगको उपाधि

४ फागुन २०७८ काठमाडौं । मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै सहिद स्मारक ‘ए’ डिभिजन लीग फूटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जितेको हो । मछिन्द्रले अब १२औँ चरणको खेलमा थ्रीस्टार क्लब र अन्तिम खेलमा नेपाल एपीएफ फूटबल क्लबसँग खेल्न बाँकी छ । यी दुवै खेलमा हार बेहोरे पनि दोस्रो स्थानको टोलीले मछिन्द्रलाई भेट्ने छैन

अङ्क तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले ११ खेलमा २९ अङ्क जोडेको छ । मछिन्द्र दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबभन्दा ९ अङ्कले अघि रहेको छ । १० खेल खेलेको मनाङको २० अङ्क रहेको छ । मनाङले अब तीनै खेल जिते पनि ‘हेड टू हेड’का आधरमा मछिन्द्र नै अगाडि हुनेछ ।

त्यस्तै मछिन्द्रले ११ खेलमा ९ जीत र २ बराबरीको नतिजा निकालेको छ । मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि मछिन्द्रले २०७६ सालमा भएको ‘ए’ डिभिजन लीगको उपाधि जितेको थियो । त्यतिबेला मछिन्द्रले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

मछिन्द्रको जीतमा अजरबैजानका खेलाडी नुर्लान नोभ्रोजोभ नायक बने । उनले खेलको ५३औँ मिनेटमा गरेको एक गोल नै मछिन्द्रका लागि निर्णायक गोल साबित बन्यो । सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडलाई सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए पनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गर्न सफल भए ।

यस हारसँगै ११ खेल खेलेको सातदोबाटोले १५ अङ्क जोडेको छ । सातदोबाटो अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्