केही दिनभित्रै सबै नागरिकलाई कोरोनाविरुद्धको बुष्टर डोज खोप (भिडियो रिपोर्टसहित)

२६ माघ २०७८ काठमाडौं । सरकारले अबको केही दिनभित्रै सबै नागरिकलाई कोरोनाविरुद्धको बुष्टर डोज खोप दिने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले तेस्रो चरणको रुपमा सबै नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना रहेको बताउनुभयो ।
मन्त्री खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाबिरुद्धको फाइजर खोप ल्याउन लागिएको जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुलाई खोप लगाउन प्रेरित गर्न विद्यार्थी संगठनलाई आग्रह गर्नुभयो ।
मन्त्री खतिवडाले विपन्न नागरिकहरुको ओपिडी सेवा निःशुल्क गर्नेबारे मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताउनु भयो ।
अनेरास्ववियूले भने विद्यार्थीहरुलाई खोपको अनिवार्य व्यवस्था गर्न, स्वास्थ्यसम्बन्धी अधिकारको कार्यान्वयन गर्न, स्वास्थ्यलाई निःशुल्क बनाउन, संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारलाई कार्यान्वयन गर्न र टिचिङ, वीर र पाटन जस्ता सामुदायिक अस्पतालमा विद्यार्थी, किसान, मजदुर लगायत आर्थिक अभाव रहेका वर्गका नागरिकको उपचार निःशुल्क गर्न माग गरेको छ ।
प्रतिक्रिया