सेनेगलले जित्यो अफ्रिका कप अफ नेशन्स फुटबल उपाधि

२४ माघ २०७८ काठमाडौं । पेनाल्टी सुट आउटमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेशन्सको उपाधि जितेको छ।
आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट उपाधि छिनोफानो गरिएको हो ।
मानेले निर्णायक पेनाल्टी प्रहार गर्दा सेनेगल ४–२ ले विजयी भयो। पेनाल्टी सुट आउटमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ र साडियो मानेले गोल गरे । तेस्रो पेनाल्टीमा बोउना सार चुकेका थिए ।
त्यस्तै, इजिप्टका लागि जिजो र मारवान हान्डीले गोल गर्न सफल हुँदा दोस्रो पेनाल्टीमा मोहम्मेद एब्डेलमोनेम र चौथो पेनाल्टीमा मोहनाद लासिन चुकेका थिए ।
यसअघि खेलको सातौं मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेनेगलले अग्रता बनाउने अवसर गुमाएको थियो । योसँगै सेनेगलले अफ्रिकी फुटबलको सबैभन्दा ठुलो उपाधि जित्न सफल भएको छ ।
प्रतिक्रिया