Main News

उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, प्रशासनको नयाँ आदेशमा के छ ?

हिमालय टिभी
२०७८ माघ २४ गते ८:२६
उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, प्रशासनको नयाँ आदेशमा के छ ?

२४ माघ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित ट्याक्सी र निजी सवारीमा लागू गरिएको जोर–बिजोर प्रणाली हटेको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सीसीएमसीले दिएको आदेशका आधारमा आजदेखि जोरबिजोर प्रणाली हटाइएको हो । जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने छ ।

सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, मास्क अनिवार्य, सवारी साधनको ढोका र सवारी साधनभित्र यात्रुले प्रयोग गर्न पाउने गरी सेनिटाइजर व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारी साधनलाई निःसंक्रमित गर्नुपर्ने लगायतका प्रावधान भने कायमै छ । लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा यात्रुको सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्नेसमेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

कोभिड संक्रमण बढेपछि माघ ७ बाट लगाइएको जोरबिजोर प्रणाली माघ १४ बाट खुकुलो बनाइएको थियो। तर ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो।

सपिङ मल, डिपार्टमेन्ट स्टोर र सबै प्रकारका पसलमा एक पटकमा ५० जना मात्र र पार्टी प्यालेसमा कुल क्षमताको ५० प्रतिशत वा बढीमा पूर्ण खोप लगाएका सय जना मानिस राखेर धार्मिक, सामाजिक वा साँस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख छ।

यस्तै विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने छ। फागुन १ देखि सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न पाइने छ । तर राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *