फागुन १ गतेदेखि खुल्ला त विद्यालय ? (भिडियो रिपोर्टसहित)
२२ माघ २०७८ काठमाडौं । कोरोना महामारीका कारण डामाडोल बनेको शैक्षिक क्षेत्र तेस्रो लहरका कारण पनि अस्तव्यस्त बनेको छ । ओमिक्रोन संक्रमण बढेसँगै विद्यालयहरु पुनः बन्द भएका छन् । तर अब शिक्षक तथा विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाइसकेकाले फागुन १ गतेबाट विद्यालय भौतिकरुपमै सञ्चालन गर्नेगरी छलफल थालिएको छ ।
यो वर्षको शौक्षिक सत्र अन्तिम चरण छ । गत वर्ष दुई वर्ष कोरानोका कारण विद्यार्थीहरुले भौतिकरुपमै विद्यालयमा पुगेर अध्ययन गर्न पाएनन् । तेस्रो लहरका कारण कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा शिक्षा मन्त्रालयले गत पुस २७ गतेदेखि माघ मसान्तसम्म भौतिकरुपमा पठनपाठन बन्द गरेको छ । अब संक्रमण दर पनि घट्दै गएको र विद्यार्थीहरुले समेत खोप लगाइसकेकाले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्नुपर्ने जोड शुरु भएको छ ।
यतिबेला अधिकांश विद्यायलले भर्चुअल रुपमा पठनपाठन गराइरहेका छन । भर्चुअल पढाई बालबालिका निम्ति समय कटाउने माध्यम मात्रै हुनपुगेको जानकारहरु बताउँछन् । भर्चुअलबाट सिकाई गुणस्तरीय हुन सकेको छैन। अझ विद्यालय बन्द रहँदा विद्यार्थीहरुको भविष्यमा नै खेलबाड हुनसक्ने विद्यालय सम्बद्ध संघठनहरुले बताउन थालेका छन् ।
भर्चुअलमा घरबाटै अध्ययन–अध्यापन गराइएपनि विद्यायलहरुले शुल्क कम नगरेको अभिभावकहरुको भनाइ छ । भर्चुअल पढ्दा तल्लो कक्षाका बालबालिकाहरुको सिकाईमा असर परिरहेको छ । त्यसैले स्वास्थ्य मापदण्ड पालना गरेर संक्रमण कम भएको क्षेत्रका विद्यालय खोल्नुपर्नेमा अभिभावक महासङ्घको भनाइ छ ।
अन्य क्षेत्र समेत खोप लगाएर नियमित काममा फर्किसकेको अवस्थामा विद्यालय पनि भौतिकरुपमै सञ्चालन गर्नुपर्ने दबाबका बीच शिक्षा मन्त्रालयले छलफल चलाएको छ । त्यसैले स्वास्थ्य मापदण्ड पालना गरेर कोरोनाको असर कम रहेका क्षेत्रमा विद्यालय सञ्चालनतर्फ ध्यान दिन जरुरी देखिन्छ ।
प्रतिक्रिया