Main News

कोरोना सङ्क्रमण घट्दा होटल–व्यवसाय तङ्ग्रिने अपेक्षा

हिमालय टिभी
२०७८ माघ २१ गते ९:०२
कोरोना सङ्क्रमण घट्दा होटल–व्यवसाय तङ्ग्रिने अपेक्षा

२१ माघ २०७८ काभ्रेपलाञ्चोक । बितेको २४ घण्टामा यहाँका २१ जनामा कोरोना सङ्क्रमण देखिँदा १०६ सङ्क्रमणमुक्त भए । अघिल्लो दिन २८ जनामा सङ्क्रमण हुँदा ३१५ सङ्क्रमणमुक्त भएका थिए । यस्तै मङ्गलबार ६३ मा सङ्क्रमण हुँदा १२२ जनालाई निको भयो ।

माघको तेस्रो साता लाग्दै गर्दा सङ्क्रमणदर ओरालो र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उकालो लागिरहँदा पर्यटकीयस्थल धुलिखेलका होटल व्यवसायी तङ्ग्रिनेमा आशावादी देखिएका छन् । कोरोना सङ्क्रमणको तेस्रो लहरसम्मले होटल–पर्यटनमा ठूलो घाटा व्यहोर्नुपरेको दुःखेसो पोख्दै धुलिखेलस्थित होटल माउण्ड प्रिन्सका सञ्चालक ज्योत्स्ना सैंजू कोरोना ङ्क्रमणदर ओरालो र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उकालो लागिरहँदा होटल व्यवसाय तङ्ग्रनेमा आशावादी बन्दै गएको बताउनुहुन्छ । “यो हप्ताको तथ्याङ्कले होटल–पर्यटनलाई तङ्ग्राउने देखिन्छ, आशावादी बन्नैप¥यो”, क्षेत्रीय होटल सङ्घ (हान)को सचिवसमेत रहनुभएका सैँजूले भन्नुभयो । उहाँ कोरोनाको अर्को लहर आए धुलिखेलका अधिकांश होटल व्यवसायीले धान्न मुस्किल पर्ने बताउनुहुन्छ ।

सैंजूका अनुसार कोरोना सङ्क्रमणको तेस्रो लहरसम्म आइपुग्दा होटल–व्यवसाय धरासायी भई धुलिखेलका चार होटल बन्द भइसकेका छन् । “होटल निर्माणको ब्याज तथा घरभाडासमेत तिर्न नसक्दा धुलिखेलका होटल बन्द हुनुप¥यो, नयाँ व्यवसायीलाई यो पेशामा निकै चुनौतीपूर्ण छ”, उहाँले भन्नुभयो । बीस कोठा क्षमता रहेको उहाँको होटलमा केही दिनदेखि स्वास्थ्य मापदण्ड अपनाएर पाहुनालाई सेवा प्रदान गर्न थालिएको छ । जिल्लामा कोरोनाको पहिलो र दोस्रो लहरमा १९३ को मृत्यु भएको थियो भने तेस्रो लहरमा दुईको मृत्यु भएको छ । हाल यहाँ ५३५ सक्रिय सङ्क्रमित छन् ।

नेपालमा कोरोना महामारीको तेस्रो लहरसम्मले धुलिखेलमा विदेशी पाहुना आउन छाडिसकेको व्यवसायी बताउँछन् । “आन्तिरिक पर्यटकमात्रै धुलिखेल आउनुहुन्छ, अब त यसैलाई सन्तोषजनक मान्नुपर्ने बाध्यता भइसक्यो”, धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेलले भन्नुभयो । तेस्रो लहरको उत्तराद्र्धमा आफ्नो होटलमा चहलपहल बढ्न थाल्नेमा प्याकुरेल ढुक्क देखिनुभएको छ । एक वर्ष नबित्दै आएको तेस्रो लहरले पहिलेकै चिन्ताले उहाँमा ‘डेरा’ जमाइसको छ । “व्यवसायले रुप फेर्लाझैँ लागेको थियो, कोरोना तेस्रो लहरको पुनः थप धरासायी बनाइदियो”, प्याकुरेलले भन्नुभयो ।

पर्यटकीयस्थल धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनायो । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका अलावा काठमाडाँै, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दथे । पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट करिब ३० किलोमिटरको दूरीमा छ ।

गत पुसदेखि तेस्रो लहर सुरु भएसँगै धुलिखेलका होटलमा बुकिङ रद्द भएका थिए । पुस र माघमा होटल ठप्पप्रायः नै रहेको व्यवसायी बताउँछन् । कोरोनाको जोखिमले पटक–पटक होटल बन्द गर्नुपर्ने कारणले व्यवसायमा घाटा ब्यहोरिरहनुपरेको गुनासो आउन थालेको हानका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताउनुभयो । “कोरोनाको जोखिमले होटल व्यवसायी निकै तनावमा छन्, होटल व्यवसाय चौपट हुने भयो, व्यवसायी टाट पल्टने भए”, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले दुःखेसो पोख्नुभयो ।

दैनिक २०० को हाराहारीमा उहाँको रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रोे लहर वैशाखपछि शून्यमै झरेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अब होटलमा आउने आन्तरिक पर्यटकमात्रै हुन्, कोरोना सङ्क्रमण नरोकिएसम्म विदेशी पाहुनाको चहलपहल नहोलाजस्तो छ ।” यही वर्ष दुईपटकको कोरोना कहरपछि आन्तरिक एवं बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन निकै प्रभावित बनाएको देखिन्छ ।

कोभिड–१९ का कारण पर्यटन क्षेत्रले व्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन निकै हम्मेहम्मे पर्नेमा व्यवसायी चिन्तित देखिएका छन् । “अब स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणतर्फ लाग्नुको विकल्प छैन”, श्रेष्ठले गुनासो गर्नुभयो ।

सङ्घले यसअघि धुलिखेलको पर्यटन प्रवद्र्धनार्थ ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’लगायत विशेष प्याकेज सञ्चालन गर्ने योजना अघि सारेको थियो । साथै जीपलाइनिङ, हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो ।

सङ्घले पुनः प्याकेजका कार्यक्रम ल्याएर व्यवसाय उकास्ने प्रयत्नमा लाग्ने योजना बनाइरहँदा तेस्रो लहरले प्रभावित बनेको देखिएको छ । “हाल पाहुनाको चाहनामा जीपलाइनिङ, नमोबुद्ध तथा जिल्लाकै पर्यटकीय स्थान घुमाउन सक्छौँ, यो पनि बन्द नहोस् भन्ने चाहन्छौँ” संैजू भन्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *