१४ वर्षमा पनि किन बनेन गोकर्णको सहिद पार्क ? (भिडियो रिपोर्टसहित)
१६ माघ २०७८ काठमाडौं । विभिन्न कालखण्डमा भएका आन्दोलनमा सहादत प्राप्त सहिदको सम्झनामा विभिन्न स्थानमा शालिक, स्मारकका साथै पार्कहरु निर्माण गरिएका छन् । करिब १४ वर्षअघि काठमाडौंको गोकर्णमा निर्माण शुरु गरिएको सहिद पार्क अहिलेसम्म निर्माण पूरा हुन सकेको छैन ।
विक्रम संवत २ हजार ६४ साल जेठ ११ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित यज्ञडोल सामुदायिक वनमा सहिद पार्क बनाउन शुरु भयो । शुरुमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयले शुरु गरेको पार्क निर्माणको कामले अपेक्षित रुपमा गति लिन सकेन् ।
पछि शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गर्ने भयो । तर यो मन्त्रालयले पनि निर्माण गर्न नसकेपछि हाल वन मन्त्रालयबाट पार्क निर्माणको बाँकी काम हुने भएको छ । यसका लागि वन मन्त्रालय अन्तर्गत नै स्थानीय स्तरमै समिति बनाइएको छ ।
यज्ञडोल सामुदायिक वन समूहका अध्यक्ष सुदर्शन सिग्देलको अध्यक्षतामा गठन भएको यज्ञडोल सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिले बाँकी काम पूरा गर्ने छ । समितिले जिम्मा लिएपछि पार्क निर्माणको काममा केही गति लिने अपेक्षा गरिएको छ । सरकारबाट आवश्यक बजेट विनियोजन हुनासाथ बाँकी काम शुरु हुने बताइएको छ ।
सबै सहिदका शालिक र नामावली यसै पार्कमा राखिनेछ । अहिले शहिद गेटमा रहेका चार सहिदको शालिक पनि यसै क्षेत्रमा राखिनेछ भने प्रथम सहिद लखन थापाको शालिक पनि महत्वका साथ राखिनेछ । सहिदको नाममा निर्माण गरिएको पार्क बनाउनु सराहनीय कार्य भएको र निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा सहिद परिवारका सदस्यहरुको जोड छ ।
पार्क निर्माणको लागत ४२ करोड अनुमान गरिएकोमा अझैं ३३ करोड रुपैयाँ जति खर्च भैसकेको र बाँकी संरचना निर्माणका लागि करिब १० करोड रुपैयाँ अपुग रहेको समितिले जनाएको छ । बजेट अभावले काम रोकिएको समितिको भनाइ छ ।
करिब ६ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको सहिद पार्कका साथै युनोस्को संग्रहालय, हल, सडकलगायतका भौतिक पूर्वाधार समेटेर गुरु योजना तयार गरिएको थियो । यो गुरु योजना अनुसार मुख्य संरचना बनेपनि सहिदका शालिक राख्ने, नामवली राख्ने लगायतका सम्पूर्ण काम गर्न भने बाँकी छ ।
प्रतिक्रिया