नेपाल र मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल भोलि हुँदै

१४ माघ २०७८ काठमाडौं । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत अफ्रिकी राष्ट्र मरिसससँगको पहिलो खेल भोलि हुँदैछ । खेल अघि दुवै टोलीका कप्तान र प्रशिक्षकले आआफ्नो धारणा राखे ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको प्रिम्याच कन्फ्रेन्समा नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले खेलको तयारी पूरा भएको र विगतका गल्ती सच्याउँदै राम्रो नतिजा निकाल्ने बताए ।
नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले मरिसस नौलो प्रतिद्वन्द्वी भएका कारण फरक अनुभव हुने प्रतिक्रिया दिए ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा रहेका सबै खेलाडी समेट्दै दुई टोली बनाएका छन् । खेल प्रतिस्पर्धात्मक भन्दा पनि अभ्यास खेलका रुपमा लिएका अलमुताइरीले सबै खेलाडीलाई अनुभव दिलाउन फरक अभ्यास गरेको यसअघि नै बताइसकेका छन् ।
पाहुना टोली मरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालसँग खेल्न सहज नहुने बताए । स्वास्थ्य जोखिम र अन्य कारण करिब दुई वर्ष भन्दा बढी समय अन्तर्राष्ट्रिय खेल खेल्न नपाएको मरिससको टोली र नेपाली खेलाडीको शैली समान रहेको भन्दै खेल प्रतिस्पर्धात्मक हुने प्रशिक्षकको अपेक्षा छ ।
विदेशी लीगमा खेलिरहेका खेलाडी क्याम्पमा जोडिन नसक्ने भएपछि अधिकांश युवा खेलाडी लिएर नेपाल आएको टोलीले नयाँ खेलाडीलाई म्याच एक्सपोजर दिलाउने प्रशिक्षक टोनीले बताए । भोलि र मंगलबार हुने खेलका लागि दशरथ रंगशालाको सिट क्षमताको एक तिहाइ दर्शकलाई समेत प्रवेश दिइने छ ।
प्रतिक्रिया