विमानस्थलको सुरक्षाः नेतालाई राजालाई जस्तै व्यवहार, सर्वसाधारणलाई हेँला (भिडियो रिपोर्टसहित)

१२ माघ २०७८ काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षालाई लिएर नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमै प्रश्न उठ्ने गरेको छ । सुरक्षाको हिसावले अति नै संवेदनशील विमानस्थलमा लापरवाही हुँदा प्रश्न चिन्ह खडा हुने गरेको छ ।
विमानस्थलमा सामान्य नागरिकलाई गेटमै रोक लगाउने प्रशासनले पहुँच हुनेहरुलाई भने विमानको ढोकासम्मै पुग्न दिने गरेको छ।
यो हो नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनबाट उपचार गरेर काठमाडौ आउँदा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले विमानको ढोकामै पुगेर स्वागत गरेको दृष्य। सामान्यतया एयरपोर्टको रन वे मै स्वागत गर्न कसैलाई छुट छैन । विमानस्थलका कर्मचारी र सुरक्षाकर्मीबाहेक कसैलाई यहाँ पुग्नका लागि अनुमति छैन ।
यसले के देखाउछ भने शक्ति र सत्तामा हुने हो भने नेपालमा संवेदनशील स्थानमा सजिलै पुग्न पाइन्छ । आम व्यक्ति विदेशबाट आउँदा लिन जानेहरु गेटमै रोकिन्छन् । भिआईहरुको स्वागत गर्न समेत भिआईपी कक्षमै कुर्नु पर्छ । तर दिपेश पुनले विमानभित्रै पुगेर स्वागत गर्ने हैसियत बनाउनु भएको छ ।
वर्षमान पुनलाई स्वागत गर्न दिपेश पुन कसरी विमानकै ढोकामा पुग्नु भयो ? के उपराष्ट्रपतिको पुत्र भएकै कारण पुनलाई विमानस्थलभित्र पहुँच दिइएको हो ? सुरक्षाको हिसावले अतिसंवेदनशील क्षेत्रमा पुनलाई प्रवेश दिन कस्को शक्तिको प्रयोग भयो ?
के कयौँ हत्या आरोपमा जेल खेपिरहेका चार्ल्स शोभराजले भनेजस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट पहुँच भएकाले हात्ती नै छिराउन सक्ने अवस्था हो ?
राजतन्त्रमा आम नागरिकले गर्न नपाउने र नमिल्ने भनिएका क्षेत्रमा राजपरिवारको सहज पहुँच हुने गर्थ्यो । आम नागरिकलाई छुने नियम–कानूनले राजाहरुलाई प्रभाव पार्दैनथ्यो । त्यसैले समान अधिकार र जनतामाथि जनताकै शासन भनिएको गणतन्त्रमा पनि यस्तो दृष्यले कस्तो संकेत गर्छ ? के गणतन्त्र प्राप्ति भनेको नयाँ शासकहरुले राजाको स्तर पाउनु हो ? राष्ट्रपति–उपराष्ट्रपति वा प्रभावशाली भनिएका नेताका सन्तानले राजकुमार–राजकुमारीकै दर्जामा अग्राधिकार प्राप्त गर्ने हुन् त ?
प्रतिक्रिया