Main News

नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीको ११७ औं स्थानमा यथावत

हिमालय टिभी
२०७८ माघ ११ गते १४:४५
नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीको ११७ औं स्थानमा यथावत

११ माघ २०७८ काठमाडौं । नेपाल भ्रष्टाचार हुने मुलुकको विश्वव्यापी सूचीको ११७ औं स्थानमा यथावत रहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको विश्वव्यापी भ्रष्टाचारसम्बन्धी वार्षिक प्रतिवेदनमा नेपाल ३३ अंकसहित ११७ औं स्थानमा यथावत रहेको हो । अघिल्लो वर्षको सूचीमा पनि नेपाल ३३ अंकसहित १ सय १७ औं स्थानमै थियो ।

नेपालको अंकभार स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिने टीआई नेपालले जनाएको छ । सूचीमा समावेश १८० देशमध्ये डेनमार्क र न्यूजिल्याण्डले एक सयमा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् ।

यस्तै दक्षिण सुडान ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा देखिएको छ । दक्षिण एसियाली मुलुकहरु मध्ये भुटान ६८ अंकसहित सूचीको २५ औं स्थान र भारत ४० अंक सहित ८५ औं स्थान छ ।

चीन ४५ अंक प्राप्त गरी भ्रष्टाचार हुने मुलुकको सूचीको ६६ औं स्थानमा छ । प्रतिवेदनमा विश्वमा भ्रष्टाचार घट्न नसकेको र ८६ प्रतिशत देशले एक दशकसम्म पनि कुनै प्रगति हासिल नगरेको देखिएको छ ।

नागरिक हकअधिकार कमजोर भएका देशमा भ्रष्टाचार रहने, मानवअधिकार हनन हुने, लोकतन्त्रको स्तर घट्ने,अधिनायकवाद बढ्ने र भ्रष्टाचारमा थप वृद्धि हुने समेत प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *