राजनीति

केपी ओलीकै बाटोमा देउवा सरकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ९ गते २०:४०
केपी ओलीकै बाटोमा देउवा सरकार (भिडियो रिपोर्टसहित)

९ माघ २०७८ काठमाडौं । सत्ता गठबन्धन आसन्न निर्वाचनमार्फत् अतिरिक्त शक्ति आर्जन गर्ने ध्याउन्नमा केन्द्रित हुँदा राष्ट्रिय मुद्दाहरु ओझेलमा परेका छन् । कोरोना महामारी र महंगी नियन्त्रण, स्थानीय तहको निर्वाचन, एमसीसीजस्ता राष्ट्रिय चासोका मुद्दाभन्दा सत्तागठबन्धनका लागि आउँदो चुनाव कसरी आफूअनुकूल बनाउने भन्ने विषय प्राथमिकतामा परेका छन् ।

आफ्नै कारण एमाले नेतृत्वको पूर्ववर्ती सरकार विस्थापित भएर कांग्रेस नेतृत्वमा सरकार गठन भएको पनि ६ महिना पुगेको छ । अघिल्लो सरकारमाथि संविधानअनुसार हिँड्न नचाहेको, निर्वाचन गर्न नखोजेको र राष्ट्रिय मुद्दाहरुमा बेवास्ता गरेको आरोप लगाएरै अहिलेको सत्तागठबन्धन सरकारमा पुगेको हो ।

सत्ताको नेतृत्वमा पुगेपछि भने कांग्रेस,माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन पनि विगत सरकारकै गल्तीलाई गुरुमन्त्र मान्ने ठाउँमा पुगेका छन् । राष्ट्रिय मुद्दाभन्दा सत्ता टिकाउन र भागबण्डामा गठबन्धन सरकारको ध्यान केन्द्रित देखिएको जानकारहरुको बुझाई छ । जनताका चासोका विषयभन्दा आफ्नो राजनीतिक लाभमा मात्र सत्ता गठबनधन अलमलिएको नागरिक अगुवा चरण प्रसाई बताउनुहुन्छ ।

राजनीतिक विश्लेषकहरु कम्युनिष्टहरुको ढंग नपुगेकै कारण बनेको देउवा नेतृत्वको सरकारसँग नागरिकले खासै अपेक्षा नै नगरेको तर्क गर्छन् । सत्ता गठबन्धन भित्रैका नेताहरुको व्यवस्थापनमा गठबन्धन अलमलिँदा जनसरोकार र राष्ट्रिय चासोका विषयले प्राथमिकता नपाएकोमा उनीहरु एकमत देखिएका छन् ।

नागरिकमा सरकारले काम गर्न नसक्दा निराशा र असन्तुष्टि बढेको विश्लेषक मुमाराम खनाल बताउनुहुन्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको व्यवस्थापनका नाममा संविधान र कानून भत्काउने काम भइरहेको खनालको आरोप छ । गठबन्धनमा रहेका दलहरु आउँदो चुनावका लागि पैसाको जोहो गर्नमै केन्द्रित भएको खनालको आरोप छ।

६ महिना पुगेको अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका उपलब्धीको फेहरिस्त नै पेश गर्नुभएको छ । तर, ती उपलब्धी दिन काट्ने मेसोभन्दा माथि छैनन् । नियमित काममा समेत सुस्त देखिएको सरकारले उपलब्धीकारुपमा व्याख्या गरेका विषयलाई जनताले न चासो दिएका छन् , न पत्याएका छन् ।

बरु जनतामा बिषम समयमा गठन भएको सरकारसँग असन्तुष्टिको पोकै छ। सरकार आफ्नो अनुहार हेरेर आफै मख्ख परिरहने र राष्ट्रिय सरोकार र नागरिकका मुद्दालाई बेवास्ता गर्ने अहिलेकै बाटोमा अगाडी बढे आउँदो निर्वाचनमा नागरिकले त्यसको हिसाव राख्ने पक्का छ । ओली सरकारको मुर्खताबाट पाठ सिक्ने भन्दा ओलीपथमै अगाडी बढ्न खोज्ने वर्तमान सत्तागठबन्धनको चरित्र उदेकलाग्दो देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्