निर्वाचनको मितिबारे छलफल गर्न आज गठबन्धनको बैठक बस्दै
७ माघ २०७८ काठमाडौं । निर्वाचनको मितिबारे छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक डाकिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संघको चुनाव गर्न प्रस्ताव गरेपछि त्यसबारे छलफल गर्न अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकिएको हो ।
बैठकमा स्थानीय तहको चुनाव पहिला कि संघको चुनाव भन्नेमा गठबन्धनको साझा धारणा तय हुने जनाइएको छ । प्रचण्डको सो प्रस्तावमा प्रमुख प्रतिपक्षी एमाले समयमै चुनाव नगर्ने नियत भनेको छ भने गठबन्धनभित्र पनि मतान्तर देखिएको छ ।
गठबन्धनभित्रको प्रमुख घटक पहिला स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छ । तर माओवादीसहितका अन्य दल शुरूमा संघको चुनावको पक्षमा गएका छन् ।
गठबन्धनभित्रै मतान्तर बढेपछि साझा धारणा तय गर्न आज बैठक डाक्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहमत भएका हुन् ।
हिजो भएको छलफलमा आज गठबन्धनको बैठकमार्फत साझा धारणा तय गरेर अघि बढ्न तीन नेता एकमत भएका थिए ।
प्रतिक्रिया