Political Hightlights

नेताज्यू मधेस आन्दोलनबाट मधेसी जनताले के पाए ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ५ गते २०:०९
नेताज्यू मधेस आन्दोलनबाट मधेसी जनताले के पाए ? (भिडियो रिपोर्टसहित)

५ माघ २०७८ काठमाडौं । मधेसी जनताको अधिकार स्थापनाका लागि भन्दै मधेस विद्रोह भएको १५ वर्ष पुगेको छ । स्वायत्त मधेस प्रदेशको नारासहित शुरु भएको मधेस विद्रोह संघीयताको आन्दोलन स्थापित गराउन सफल भयो ।

यसैको जगमा तीन दिनअघि मात्रै प्रदेश दुईले मधेस प्रदेश नाम पाएको छ भने जनकपुरधामलाई स्थायी राजधानीका रुपमा स्थापित गरिएको छ । तर यो १५ वर्षमा अरु उपलब्धि के भए त ?

मध्य तराईका ८ जिल्लाको छुट्टै प्रदेश बन्नु, यो प्रदेशमा मधेस केन्द्रित दलहरु नै सरकार सञ्चालनका लागि जनमत प्राप्त गर्न सफल हुनु तथा आफ्नो तजविजीमा पहिचानको आधार स्थापित गरेर नाम र राजधानी तय गर्नु मधेस आन्दोलनको १५ वर्षीय उपलब्धि हो ।

तत्कालिन मधेसी जनअधिकार फोरममा मधेसका सबैजसो नेताहरु गोलबद्ध भएर सुरु भएको आन्दोलनले मधेसलाई कायापलट गर्ने सपना बाँडेर मधेसको सम्पूर्ण विश्वास आफूमाथि केन्द्रित गर्न सफल भएको थियो । त्यही अगाध विश्वासका कारण मधेस आन्दोलन, त्यसपछिका विभिन्न विद्रोह र कतिपय राजनीतिक खिचातानीकै क्रममा कयौँ मधेसी सन्तानले आफ्नो ज्यान गुमाए ।

त्यसै कारण पनि मधेस आन्दोलनको १५ औँ वर्षगाठलाई धेरैजसोले बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् । मधेस आन्दोलनको सपना शासकीय संरचनामा मधेसीको पहुँच, अवसरहरुको बाँडफाँड, पिछडिएको क्षेत्र र समुदायलाई अग्राधिकार प्रदान गर्नु थियो । तर आन्दोलनको १५ वर्षमा कयौँ मधेसवादी नेताहरु सत्तामा पुगेका छन् । खासमा यो आन्दोलन मधेसका नेताहरु सत्तामा पुग्ने भर्याङ मात्र बन्न पुगेको छ ।

मधेस आन्दोलनका जगमा बनेको मधेस प्रदेश र यसको नेतृत्व गरेका दलहरुले सहिदका सपनालाई तिलाञ्जली दिएर राजनीतिक खिचातानीमै वर्षौँ विताएका छन् । आफ्नै नेतृत्वमा बनेको सरकारले नागरिकका न्यूनतम अधिकार र आवश्यकताहरुलाई पूर्ति गर्न सकेको छैन । मधेसको ठूलो जनसंख्या अझैसम्म पनि चरम गरिबी, अशिक्षा र थुप्रै सामाजिक कुप्रथाहरुको दलदलमा छ ।

यही समुदायको नेतृत्व गर्न हिजो एउटै मोर्चामा गोलबद्ध भएकाहरु मधेस आन्दोलनमा संघीयताको आश्वासन पाएसँगै पार्टी विभाजन र टुटफुटको अखण्ड यात्रामा होमिएका छन् । पार्टीभित्रको टुटफुट सत्तामा जाने र नजाने कुराकै विवादमा केन्द्रित छ । मधेस आन्दोलनसँगै गठन भएको मधेसी जनअधिकार फोरम कयौँ टुक्रामा विभाजित भइसकेको छ । त्यो पार्टीका अधिकांश नेताहरु अहिले छुट्टाछुट्टै नामका पार्टीमा छन् । यतिबेला मधेस शब्द जोडिएको पार्टी नै अस्तित्वमा छैन । फुट्नेहरु चाँहि सत्तामा को जाने को नजाने भन्ने कुराले निर्देशित देखिन्छन् ।

कतिपयले मधेस आन्दोलनले कायापलट नै नगरेको भए पनि थुप्रै उपलब्धि हासिल गरेको भनेर चित्त बुझाइरहेका छन् । तर १५ वर्षमा समयक्रमले नै थुप्रै विकास भइसक्नु पर्ने प्राकृतिक विकास समेत भएको देखिदैन ।

मधेस विद्रोह नै गलत थियो भन्ने भास्य स्थापित नहोस् भन्नका लागि विकास भएको भनिए पनि मधेसका गरिब किसानहरुको घाउमा कुनै पनि उपलब्धिको खाटो बसेको छैन । २०६३ सालको आन्दोलन होस् वा २०७२ सालको आन्दोलन । २०६३ को मधेस आन्दोलनले बसालेको जग उल्लेखनीय भए पनि त्यसपछिका विद्रोहमा मधेसका मसिहाहरुले देखाएका द्वेध चरित्रले नागरिक खुसी छैनन् । सत्तामा पुगे हाम्रो माग सम्बोधन भयो भन्ने, सत्ताबाट बहिर्गमन हुनासाथ आन्दोलनको औचित्य देख्ने प्रवृत्तिले गरिब, किसान र सहिद परिवार निकै दुखी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्