Main News

प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम

हिमालय टिभी
२०७८ माघ ३ गते १६:४७
प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम

३ माघ २०७८ जनकपुर । प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा दुईतिहाइ मतले जनकपुरधामलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको हो ।

कुल १ सय ४ सांसदमध्ये प्रदेशसभा बैठकमा ९९ सांसद उपस्थित थिए भने ५ जना अनुपस्थित रहे । जनकपुरधामको पक्षमा ७८ मत खसेको थियो । यो कुल सांसदको दुईतिहाइ मत हो ।

प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न सभामुख सरोज यादव नेतृत्वको संसदीय समिति बनाइएको थियो । समितिले तीन वटा नाम प्रस्ताव गरेको थियो । पहिलो प्रस्ताव जनकपुरसहित पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यामिक परिक्रमा सडक, उत्तरमा ढल्केवर र दक्षिणमा नेपाल–भारतको सीमासम्म रहेको थियो ।

त्यस्तै बारा र पर्साका सांसदले वीरगञ्ज महानगरपालिका र वीरगञ्ज, सिमरा–जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको दुईवटा प्रस्ताव थियो । त्यसमध्ये जनकपुर स्थायी राजधानी बनाउने प्रस्ताव पारित भएको हो ।

यो प्रस्तावमा राजनीतिक सहमति जुटेको थियो । अब प्रदेशको नाममा मतदान प्रक्रिया सुरु गरिएकोछ । प्रदेशनको नामको रुपमा मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेस गरी चार वटा प्रस्ताव गरिएको छ। नाममा भने दलहरु नै विभाजित बनेका छन् ।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र माओवादी केन्द्रले मधेस प्रस्ताव गरेका छन् । त्यस्तै कांग्रेसले मिथिला–भोजपुरा प्रस्ताव गरेको छ भने नेकपा एमाले र एकीकृत समाजवादी पार्टीले जानकी प्रस्ताव गरेका छन् । त्यस्तै बारा र पर्साका सांसदले मध्य मधेस नाम प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *