Main News

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भूभाग : नेपाल सरकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २ गते १६:४७
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भूभाग : नेपाल सरकार (भिडियो रिपोर्टसहित)

२ माघ २०७८ काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको बताउनुभएको छ ।

आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग रहेको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताउनुभएको हो ।

सरकारले भारतलाई नेपाली भूभागमा एक पक्षीय सडक निर्माण तथा विस्तार रोक्न आग्रह गर्दै आएको उहाँले बताउनुभयो । उहाँले दुई देशबीचको सीमा समस्यालाई ऐतिहासिक सन्धि, सम्झौता, तथ्य तथा नक्सा र प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘महाकाली नदीका पूर्व लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ । नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण, विस्तार, रोक्न आग्रह गर्दै आएको छ । नेपाल र भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशको सीमा समस्या समाधान ऐतिहासिक सन्धि, सम्झौता, तथ्य, नक्शा र प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको छ ।’

उहाँले नेपाल र भारतबीच रहेको मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार सीमा समस्या हल हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *