Main News

सरकारका आश्वासन आश्वासनमै सीमित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ३० गते २०:५६
सरकारका आश्वासन आश्वासनमै सीमित (भिडियो रिपोर्टसहित)

३० पुस २०७८ विराटनगर । राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश सरकार गठन हुँदा जनतालाई बाँडिएका विभिन्न आश्वासन आश्वासनमै सिमित भएका छन् । प्रदेश १ को मुख्यमन्त्रीका रुपमा शपथ लिँदै गर्दा प्रदेशको नामाकरणको प्रक्रिया अघि बढाउने, बजेट पुनरावलोकन गर्ने र मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने योजना सुनाएका राईले न ती घोषणा पूरा गर्नुभयो न कुनै काम हुने सम्भावना नै देखिन्छ ।

मुख्यमन्त्रीको रुपमा शपथ लिँदै गर्दा राजेन्द्र कुमार राईले अघिल्ला मुख्यमन्त्रीको मन्त्री परिषद्ले गरेका सबै निर्णय, राजनीतिक नियुक्ति खारेज गर्ने घोषणा गर्नुभएको थियो । साथै जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई सम्बोधन गर्ने आश्वासन दिनुभएको थियो । तर, आश्वासन दिने र काम नगर्ने प्रवृतिबाट मुख्यमन्त्री राई पनि अछुतो रहनु भएन ।

रोचक कुरा त के छ भने साढे दुई महिनामा मन्त्रिपरिषद्को बैठक जम्मा पाँच पटक बस्यो । अझै रोचक कुरा, ती बैठकका निर्णय न पालना नै भएका छैनन् भने अझैसम्म सरकारको प्रवक्तासमेत तोकिएको छैन ।

बरु प्रदेशका सात मन्त्रालयलाई फुटाएर १२ बनाउने सहमति जुटाउनुलाई सायद मुख्यमन्त्रीले सबैभन्दा ठूलो उपलब्धि मान्नुभएको छ ।

सरकार गठनको प्रकृया अघि बढ्न नसकेकोमा पार्टीहरुको महाधिवेशनलाई प्रदेश सरकारले बाधक मानेको छ । तर, कुनै राजनीतिक दलको कार्यक्रमका कारण सरकारको काम रोकिन नहुने सहयात्री पार्टीका सांसदको मत छ ।

तत्काल प्रदेशको नामकरण प्रक्रिया अघि बढाउने आश्वासन दिए पनि यही कार्यकालमा प्रदेश १ ले नाम पाउने सम्भावना देखिएको छैन । मुख्यमन्त्री राईले बजेट पुनरावलोकनको नाममा योजनाहरुको कामकाज सञ्चालनमा समेत रोक लगाउनु भएको छ । दुई महिना बितिसक्दा पनि हालसम्म बजेट पुनराबलोकनको प्रक्रिया अघि बढ्न सकेको छैन ।

प्रदेश सरकारले लिने कुनैपनि निर्णय पहिले राजनीतिक संयन्त्रले पास गर्नुपर्ने सहमति भएको थियो । तर अहिलेसम्म संयन्त्रको एउटा पनि बैठक बस्न सकेको छैन ।

तर, आफ्ना मान्छेलाई विभिन्न पदमा नियुक्त भने गर्न भ्याउनुभएको छ । उहाँले मुख्य न्यायाधिवक्तामा भोजराज श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । यतिसम्मकी मन्त्री नै नभएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दुई–दुई जना स्वकीय सचिव नियुक्त गरेर आर्थिक भार बढाउन सफल हुनुभएको छ । तर मुख्यमन्त्री राई भने काम भइरहेको र मूल्यांकन गर्नेबेला नभएको जिकिर गर्नुहुन्छ ।

चालु खर्चमात्रै गरेर बसिरहेको प्रदेश सरकारले बहुवर्षीय तथा चालु प्रकृतिका योजनाहरुको काम भइरहेको दाबी गरेको छ । तर भागवण्डामा मुख्यमन्त्री पाएका राईको गति भने कछुवाको भन्दा कमजोर देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *