Main News

पश्चिम तराईमा माघीको विशेष रौनक शुरू (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ३० गते १६:४०
पश्चिम तराईमा माघीको विशेष रौनक शुरू (भिडियो रिपोर्टसहित)

३० पुस २०७८ बर्दिया । थारु समुदायको मुख्य चाड माघी पर्वको रौनक सुरु भएको छ । भोलि मकर संक्रान्तिलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउँछन् ।

पश्चिम नेपालको बाँके, बर्दिया , कैलाली, कन्चनपुर र दाङ जिल्लामा थारु समुदायको बाहुल्यता छ । माघीको अवसरमा थारु संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुन थालेका छन । थारु वस्तीमा युवा युवतीहरु माघीमा मघौटा, सखिया र हुरदंगा नाच नाच्ने गर्छन् । माघी पर्वको पूर्वसन्ध्यामा थारु बस्तीमा नाचगान सुरु भएका छन ।

गाउँका युवा युवती भेला भएर नाचगान गरेर रमाइलो गर्छन् । गत वर्ष कोरोना संक्रमणको जोखिमका कारण राम्रोसँग माघी पर्व मनाउन नपाएका थारु समुदाय यसपाली भव्य रुपमा माघी पर्व मनाउने तयारीमा छन् ।

माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँछन । थारुहरुले माघी मै वर्ष दिनको योजना बनाउने गर्छन् । थारुगाउँमा बड्घर, गुरुवा, चौकीदार राख्ने, खेतीबाली लगाउनका लागि जग्गा धनीसँग सहमति गर्ने जस्ता कामको निर्णय पनि माघी कै बेलामा गरिन्छ । माघी मै थारु गाउँमा बडघर चयन गरिन्छ । बडघरले गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी लगायत समाजिक कामको अगुवाई गर्छन ।

माघे संक्रान्तिको अघिल्लो दिन अर्थात पुस ३० गते थारु समुदायमा जीता मार्ने अर्थात सामूहिक रुपमा सुँगुर, बंगुर मारेर खाने गर्छन् । माघे संक्रान्तिका दिन गाउँको चोकमा आगोको धुनी बाल्ने चलन छ । यो पर्वमा थारुजातिले विशेष परिकारको रुपमा ढिकरी (चामलको पिठोबाट बनाइने परिकार),माछा, घोघी, सुँगर वा बंगुरको मासु र जाँड खाने र खुवाउने गर्छन् ।

थारु समुदायमा माघे संक्रान्तिको अघिल्लो दिन रातभर जाग्रम बसेर भजन कीर्तन गर्ने चलन छ । माघे संक्रान्तिका दिन बिहानै नजिकैको खोला नदीमा गई नुहाउने गरिन्छ । यो दिन खोला नदीमा गइ नुहाउँदा वर्षको पाप पखालिने जन विश्वास छ । नुहाएर आफुभन्दा ठूला मान्यजनलाई ढोग गरी आशिर्वाद लिने गरिन्छ । मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा बाँकेको बैजापुर ,बर्दियाको ठाकुरद्धारा र दाङको रिहारमा माघी मेला लाग्ने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *