Main News

कर्मचारी नियुक्तिमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाको मनोमानी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २८ गते २०:२४
कर्मचारी नियुक्तिमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाको मनोमानी (भिडियो रिपोर्टसहित)

२८ पुस २०७८ काठमाडौं । लामो समय बितिसक्दा पनि जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा नआएका कारण आलोचना खेप्दै आएको नेपाल रेल्वे कम्पनी लिमिटेड पुनः विवादमा तानिएको छ । कम्पनीका महाप्रबन्धक निरञ्जन झाले प्रक्रिया मिचेर ५५ जनालाई नियुक्त गरी तालिम दिन थालेपछि विवाद भएको हो ।

भारतसँग खरिद गरी निकै तामझामका साथ जनकपुरमा भित्र्याइएको करिव डेढ वर्ष भइसक्दा पनि रेल सञ्चालनमा आउने छाँटकाँट अझै छैन । इनर्वा स्टेशनमा त्रिपालले छोपेर राखिएको रेल सञ्चालनमा ल्याउन पहल तीब्र पार्नुको सट्टा रेल्वे कम्पनी एकपछि अर्को विवादमा मुछिएको छ ।

कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आवश्यक प्रक्रियामा प्रवेश नै नगरी आफूनिकटका ५५ जनालाई भर्ना गरी तालिम दिन थालेपछि विवाद भएको हो । झाले हटाएका कर्माचारीहरु त आन्दोलनमै उत्रिएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको कोटाबाट कम्पनीको महाप्रबन्धक नियुक्त हुने बित्तिकै महाप्रबन्धक झाले डेढ सय कर्मचारी हटाउनुभयो । आफ्ना आसेपासेलाई गोप्य तालिम दिएर भर्ना गर्न लागेको भन्दै हटाइएका कर्मचारीहरुले बुधबार तालिम स्थल घेराउ गरेका छन् । कानुनी प्रक्रिया पूरा नगरी नयाँ नियुक्ति गरिएको हटाइएका कर्मचारीको आरोप छ । तालिम लिँदालिँदै जागिरबाट हटाइएको र आवेदनवापतको रकम पनि फिर्ता नपाएको उनीहरुको गुनाशो छ ।

महाप्रबन्धक झाले भने योग्यता, क्षमता र शैक्षिक प्रमाणपत्रको आधारमा छनौट गरी ५५ जनालाई एक महिने तालिम दिन थालेको दाबी गर्नुभयो ।

महाप्रबन्धक झा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको मिलिभगतमा ५५ जना भर्ती गरी गोप्य तालिम दिइरहेको आरोप असन्तुष्टहरुको छ । कम्पनीले गत वर्ष भदौमा पहिलोपटक विभिन्न पदमा १ सय २९ कर्मचारी मागेको थियो ।

जसका लागि ३२ हजार ६ सय ८६ जनाले दरखास्त बुझाए । दरखास्तवापत कम्पनीले १ करोड ३६ लाख उठायो । दरखास्त संकलनपछि लोकसेवा आयोगले विज्ञापन नै रद्द गर्न लगायो । दरखास्तवापतको रकम फिर्ता हुनुपर्ने माग गर्दै उनीहरूले पटकपटक जनकपुरमा आन्दोलन गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *