राजनीति

एमालेमा सहमतिका नाममा निरंकुशता: पार्टी छाड्नेको लर्को (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २७ गते २०:४७
एमालेमा सहमतिका नाममा निरंकुशता: पार्टी छाड्नेको लर्को (भिडियो रिपोर्टसहित)

२७ पुस २०७८ काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रायः भाषणमा आफ्नो भावी योजना सुनाउँदै भन्ने गर्नुभएको शब्द हो–आगामी चुनावपछि दुई तिहाइ मतका साथ बाजागाजासहित मूल ढोकाबाटै फेरि सिंहदरबार प्रवेश गर्ने । तर, राम्रालाई होइन, हाम्रालाई प्राथमिकता दिंदा ओलीको सिंहदरबार प्रवेश योजना माकुराका बच्चाले माउ खाए झैं उहाँकै निकटले तुहाउने निश्चित छ ।

दुई तिहाई मतका साथ फेरि सिंहदरबार फर्कने बिगुल फुक्दै हिँडेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो गाँसमै ढुंगा लागेको छ । ओलीलाई मूल नेतृत्व मान्न एमालेका सबै नेता कार्यकर्ता तयार छन् । तर ओलीको पाउमा को बढी झुक्ने भन्ने प्रतिष्पर्धा बढ्दा पार्टीभित्र विवाद भुसको आगोझैं फैलिरहेको छ ।

हालै चितवनमा केन्द्रीय महाधिवेशन सम्पन्न गरेको एमालेमा असन्तुष्टिको पहिलो आवाज त्यहिंबाट शुरु भएको थियो । पार्टीलाई संकट परेका बेला साथ दिएका नेताहरुलाई केन्द्रीय कमिटीमा नल्याइएको असन्तुष्टि लिएर फर्किएकाहरुलाई अहिले फेरि पेल्ने नीति लिइएपछि बाजागाजासहित सिंहदरबार फर्कने उद्घोष गरेका ओलीको योजनामाथि कालो बादल मडारिन थालेको छ ।

चितवनमा सम्पन्न दशौं महाधिवेशनमा योग्यता नपुगेका र नेतृत्वको भजनमण्डलीमा खैजेडी समेत बजाउन ढंग नभएकालाई केन्द्रीय सदस्यको भारी बोकाइदिएका ओलीले लामो समय पार्टीलाई संकट मोचन गराएका नेताहरुलाई पाखा लगाएको आरोपको उचित जवाफ दिनुभएको छैन। चितवनकै चर्चित नेता कृष्णभक्त पोखरेल हुन् या काठमाडौंमा एमालेको संगठन बलियो बनाउन भूमिका खेलेका रामवीर मानन्धन । अनि पर्वतका विकास लम्साल हुन् या अन्य नेता ।

पार्टीमा कुनै योगदान नभएका र संगठन निर्माणमा समेत भूमिका खेल्न नसकेकाहरुलाई विभिन्न उपगुटका सिफारीसमा स्थान दिइए पनि संघीय संसदमा ओलीलाई दरिलो साथ दिएका दश जना निर्वाचित सांसदहरु केन्द्रीय कमिटीमा अट्न सकेनन् । चितवनबाट फर्कंदै गर्दा उनीहरुलाई लागेको थियो कि अब जिल्ला नेतृत्वका लागि आफुहरुलाई केन्द्रमा स्थान दिइएन । तर जिल्ला अधिवेशनसम्म आइपुग्दा त्यहाँ पनि केपी ओलीको समूह भित्रकै उप र सहगुटहरु हाबी हुँदा आगामी दिनमा पार्टीलाई जनताबीच प्रभाव पार्नसक्ने नेताहरु पाखा लाग्नुपरेको छ ।

कतिसम्म भने सिन्धुपाल्कोकका पुराना नेता सुभास कर्माचार्यले त पार्टी त्याग कै घोषणा गर्न पुग्नुभयो । काठमाडौं जिल्ला अधिवेशनमा कृष्णगोपाल श्रेष्ठ र कृष्ण राईहरुको गुटले रामेश्वर फुयाँल, निर्मल कुईंकेल, निर्मल देउजा र विद्यासुन्दर शाक्यहरुको कुरा सुन्ने कुरै भएन । चार चार पटक संघीय चुनावमा पराजित भइ गत चुनावमा बाम गठबन्धनको भरमा चुनाव जितेका कृष्णगोपाल यतिबेला काठमाडौंमा हाबी हुनुभएको छ। तर जनाधार नै कमजोर भएका नेताहरु ओलीको उत्तराधिकारी दाबी गरिरहँदा आगामी चुनावमा जनताबीच लोकप्रिय हुनसक्ने नेताहरु बिलखबन्दमा छन् ।

दुई तिहाइ मतसहित सिंहदरबार छिर्ने मास्टर प्लान सुनाउँदै हिड्ने ओलीले काठमाडौं उपत्यकामा रहेको १५ सिट मध्ये कम्तिमा आधा जिताउन सक्नेलाई नेतृत्वमा ल्याउन चासो नै नदिएको चर्चा काठमाडौंमा व्याप्त छ ।

देशभरका अधिकांश जिल्लामा सर्वसम्मतिले नेतृत्व चयन गरिएको भनिए पनि ओलीलाई नै मुल नेता मान्नेबीचका गुटको अस्वभाविक प्रतिष्पर्धा देखिन्छ । केही ठाउँमा सहमतिका नाममा पेलेरै नेतृत्व चयन गरिएको भन्दै असन्तुष्टि चुलिएको मात्रै हैन विष्फोटको अवस्था नै देखिएको छ ।

सहमतीय चुनावी प्रकृयाका नाममा योग्यलाई पाखा लगाएर आफ्नालाई काखि च्यापिदिंदा लुम्बिनी प्रदेशमा केही क्षमतावान नेताहरुले पार्टी जिम्मेवारी छाड्ने संकेत गरेका छन् । पार्टी केन्द्रले नै सकेसम्म सहमतिमै नेतृत्व छान्न दिएको निर्देशनले नेकपा एकताका समयमा जोडिएका पूर्व माओवादी खेमाबाट आएका नेताहरुको व्यवस्थापन तथा १० बुँदे सहमति गरेर आएका नेताहरुको भावनाको कदर गर्ने आशा निराशामा परिणत हुँदैछ ।

नयाँ नेतृत्व सर्वसम्मत घोषणा भएको दाङ एमाले निवर्तमान अध्यक्ष टिकाराम खड्काले त्यहाँको चुनावी प्रकृयाबाट पूर्ण असहमति जनाउँदै आफ्नो लामो राजनीतिक जिम्मेवारीबाट अलग्गै रहेको घोषणा गर्नुभएको छ । एमाले महासचिव शंकर पोखरेलको गृहजिल्लाका निवर्तमान अध्यक्षले पार्टी छोड्ने अवस्था आउनु सामान्य होइन । पोखरेलले व्यवस्थापनमा चिन्ता नलिएपछि आगामी दिनमा बाजागाजासहित सिंहदरबार छिर्ने ओलीको योजनालाई दाङबाटै धक्का नलाग्ला भन्न सकिंदैन ।

त्यसो त अर्घाखाँचीका एमाले नेता खुबिराम आचार्यले पनि सर्वसम्मत नेतृत्व छनौटमा चर्को असन्तुष्टि जनाउनुभएको छ । निर्विरोध निर्वाचित ९० जनाको कमिटी खारेज नगरे सामुहिक राजीनामा दिने नेता आचार्यको घोषणाले आगामी चुनावमा ओलीको सिंहदरबारको मुल गेटमा पञ्चेबाजा बजाउने अभियानमा अर्को झड्का लाग्ने देखिन्छ ।
मकवानपुरमा पनि त्यही अवस्था देखिएको छ ।

एकलाल श्रेष्ठको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरिएपछि अध्यक्षका आकांक्षी बद्री लम्सालले चर्को विरोध गर्नुभएको छ । पार्टी भित्र विधि र विधान भन्दा नेताको निगाहले काम गर्न थालेपछि कार्यकर्ता पनि निराश बनेका छन् । सर्वसम्मतिका नाममा राम्रालाई पाखा लगाउने र हाम्रालाई छान्ने गुटहरुको सक्रियताले आगामी तीन तहका चुनावमा आन्तरघात बढ्ने निश्चित छ ।

अहिले जसरी सर्वसम्मतिको नाममा टिके प्रवृत्ति मौलाएको छ, आगामी दिनमा त्यो चिर्न निकै सकस पर्ने देखिन्छ । अझ अरुलाई परमादेशी सरकारको उपमा दिंदै हिडेको एमाले नेतृत्वको जनादेशसहित फेरि सरकारमा फर्कने चाहनामा कोठे योजना बनाएर गुटे राजनीतिमा रमाउनेहरु नै तगारो बन्ने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्