मन्त्रीले काम गर्ने सनक कि ऐन कानून अनुसार ? (भिडियो रिपोर्टसहित)
२६ पुस २०७८ काठमाडौं । कतिपय मन्त्रीहरुले सनकका भरमा काम गर्ने गरेको देखिन्छ । कहिले कर्मचारीमाथि हप्कीदप्कीदेखि कुटपीटसम्म र कहिले लोकप्रियताका लागि कानूनी प्रबन्धहरुको बेवास्तासम्मले मन्त्रीहरुको काम कति दिगो होला भन्ने प्रश्न उब्जाउने गरेको छ ।
तत्कालीन वन तथा भूसंरक्षण मन्त्री मातृका यादवले ललितपुरका स्थानीय विकास अधिकारीलाई गैरकानूनी काम गरेको भन्दै शौचालयमा थुन्नुभयो । पहिलो संविधानसभा निर्वाचनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारका मन्त्री यादवले २०६५ सालमा स्थानीय विकास अधिकारीले गैरकानूनी काम गरेको भन्दै आफैले कानून हातमा लिएर शौचालयमा थुन्ने हर्कत गर्नुभयो ।
त्यसअघि पनि गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा वनमन्त्री बनेका यादवले कानून हातमा लिन खोज्दा प्रधानमन्त्रीसँग विवाद भएर राजीनामा दिनुभएको थियो । त्यसपछि पनि सरकारमा जाँदा उहाँ प्राय विवादित बन्दै आउनु भयो । २०६६ सालमा तत्कालीन कृषि तथा सहकारी सहायकमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात गर्नुभयो ।
उहाँले आफ्नो आदेश प्रजिअले नमानेको भन्दै कुटपीट गर्नुभएको थियो । दुई वर्षअघि प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव विद्यानाथ झालाई कुटपीट गर्नुभयो । यी थिए मन्त्रीहरुका रौद्ररुप ।
मन्त्रीहरु रौद्ररुपमा मात्रै होइन कतिले आफूलाई अद्भूत र कतिले चाँहि करुण रसमा प्रस्तुत गर्न खोजे । तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बनेको समयमा ऊर्जामन्त्रीको जिम्मेवारी पाएका गोकर्ण विष्टले आफूलाई अद्भूत काम गर्ने मन्त्रीका रुपमा स्थापित गर्ने प्रयास गर्नुभयो ।
मुलुकमा लोडसेडिङको मार चलिरहेका बेला उहाँले कुलेखानीको जलसतह नै घट्नेगरी आयोजना चलाउनुभयो । अर्कोतर्फ उहाँको रमाइलो काम के थियो भने लामो समयदेखि विद्युतको बक्यौता रहेका संस्थाहरुको बिजुलीको लाइन काट्नु । आफैले कैँची बोकेर कतिपय अत्यावश्यक सेवाका संस्थाहरुको समेत विद्युत लाइन काटिदिनुभयो । उहाँ मन्त्रीबाट बाहिरिँदा लोडसेडिङको मार उहाँको कार्यकालअघिको भन्दै झण्डै दोब्बरले बढ्यो ।
मन्त्री बनेपछि आफूलाई सादगी र साधारण नेताका रुपमा चिनाउने प्रयासमा एमालेका अर्का नेता लालबाबु पण्डित निकै अगाडि देखिनुभयो । पहिलो कार्यकालमा कर्मचारीको सातोपुत्लो खानेदेखि विदेशमा कार्ड र सम्पत्ति हुनेहरुमाथि कारबाही चलाउने प्रयास गर्नुभयो । दोस्रो कार्यकाल मन्त्री हुँदा कर्मचारीमाथिको रवैया चर्को हुँदाहुँदै विवादित बन्नुभयो ।
आफूले साइकल चढेर सिंहदरबार धाइरहेको दाबी गर्दागर्दै पेट्रोलको दुरुपयोग भइरहेको समाचार आएपछि उहाँको इमान्दार र सादगी दाबी गरिएको छविमाथि कयौँ प्रश्नहरु उब्जिए ।
साइकल चढेर मन्त्रालय धाउने अर्कामन्त्री हुनुहुन्थ्यो, विश्वेन्द्र पासवान ।भीभीआईपीहरुमाथि सुरक्षा संयन्त्रले गर्नुपर्ने न्युनतम सावधानीहरुमा अप्ठेरो पर्नेगरी उहाँको साइकल यात्रा देखियो । उहाँले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासहित सबै मन्त्रीलाई साइकलसमेत बाँड्नुभयो । ठूलै बजेट खर्च गरेर खरिद गरिएका साइकल आफूले केही समय चढे पनि बाँकी दुरुपयोग नै भए ।
सनककै भरमा काम गर्ने मन्त्रीका रुपमा अहिले प्रेम आले देखिनु भएको छ । अहिलेसम्म उहाँले गरिरहेका कामहरु कतिपय प्रशंसनीय छन् । सरकारी सम्पत्तिमाथिको दुरुपयोग रोक्न उहाँले दिने ठाडो आदेश र कर्मचारीमाथिको हप्कीदप्कीले एउटा ऊर्जा ल्याएको जस्तो देखिन्छ । तर निम्नस्तरको शब्द प्रयोग गर्दा उहाँको ओज घट्दै जाने निश्चित छ ।
कानूनी बाहना पुराएर गरिएको ब्रह्मलुटविरुद्ध मन्त्रीको हप्कीदप्कीले कति समय काम गर्ला ? सरकारमा पुगेपछि कानून नै संशोधन गरेर आफू अनुकुलका मान्छेहरुलाई फाइदा हुने गरी काम गर्ने प्रवृत्ति भएको मुलुकमा आलेको प्रयास सराहनीय हुँदाहुँदै पनि उहाँको मौखिक आदेश कार्यान्वयन कति प्रभावकारी रुपमा हुन्छ होला ? तत्कालीन मन्त्री यादव वा विष्ट वा आलेसम्म आइपुग्दा धेरैजसोले सनकको भरमा काम गरिरहेको देखिन्छ ।
कुनै पनि काम ऐन कानूनले तोकेबमोजिम गर्नुपर्छ । कसैमाथि कारबाही गर्नुपरे प्रक्रिया छ, प्रहरी छ, अदालत छ । राम्रो काम गर्नका लागि कानून बाधक भए संशोधन गर्नुपर्छ । राम्रै काम नराम्रोसँग भइरहेको छ र सच्याउनुपर्ने हो भने पनि तीनका निश्चित प्रक्रियाहरु छन् ।
ती प्रक्रिया पुरा नगरी सनकका भरमा काम गर्ने र सस्तो लोकप्रियता कमाउने शैलीले दिगो विकासको परिकल्पना गर्न सकिँदैन । कुनै पनि मन्त्री वा काम गर्न खटिएको जनप्रतिनिधि वा अदालत वा कर्मचारीले काम राम्रो गर्नु त पर्छ नै त्यसबाट काम गर्ने तरिकाको मूल्य पनि स्थापित गर्नुपर्छ । नत्र एउटा सनकी व्यक्तिको कार्यकालपछि त्यो संस्था थप खण्डहर बन्ने निश्चित नै छ ।
प्रतिक्रिया