राजनीति

राज्यले दिने स्वास्थ्य सहायतमा भिआइपीको लुटः यी नेताहरुले लिएका छन् करोडौं (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २५ गते २०:४०
राज्यले दिने स्वास्थ्य सहायतमा भिआइपीको लुटः यी नेताहरुले लिएका छन् करोडौं (भिडियो रिपोर्टसहित)

२५ पुस २०७८ काठमाडौं । राज्य कोषको दोहन कतिसम्म भएको छ भन्ने उदाहरण नेताहरुले आफ्नो उपचारका लागि गरेको खर्चले प्रष्ट पारेको छ । करिब १५ वर्षमा नेता तथा पहुँचवालाहरुको उपचारका नाममा ८ अर्बभन्दा बढी रकम खर्च भएको छ ।

सत्तामा पुग्नेले राज्यकोषको रकम आफ्नो तजबिजका आधारमा बाँड्ने चलन २०६२–६३ पछि बनेका सरकारहरुले तीव्र पारेका छन् । आम नागरिकले पाउने स्वास्थ्य उपचार खर्च लिन वर्षौं लाग्छ तर पहुँचवालाहरुले तुरुन्तै पाउँछन् । राज्य कोषमा भएको यो हदसम्मको दुरुपयोगले आर्थिक विकृतिहरु निम्त्याएको छ।

के तपाईलाई थाहा छ, तपाईले राज्यलाई तिर्नुभएको करको दुरुपयोग कतिसम्म भएको छ ? १५ वर्षमा नेता र पहुँचवालाहरुको उपचारको नाममा ८ अर्बभन्दा बढी रकम खर्च भएको तथ्याङ्क छ । मापदण्ड विपरीत नेताहरुले पहुँचका आधारमा आफ्नो उपचार गर्न रकम सहजै पाउने गरेका छन् । २०६२–६३ यता कम्युनिष्ट र कांग्रेसका नेतृत्वमा १० वटा सरकार बने । यी सरकारहरुले नेता र उनीहरुका आसेपासेलाई उपचारका नाममा लाखौं रुपैयाँ दिएका छन् ।

चालू आर्थिक वर्षको ५ महिनामा मात्रै सरकारले आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडिसकेको छ । उक्त सहयोग लिनेमा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री प्रदीप नेपाल लगायत नेता र पहुँचवालाहरु छन् । यो आर्थिक वर्षमा राज्यबाट आर्थिक सहयोग लिने उच्चपदस्थमा पूर्वप्रधानमन्त्री खनालले बढी ४८ लाख ५० हजार रुपैयाँ, पूर्वमन्त्री नेपाल र मैया भुजेल दुईजनाले १४ लाख रुपैयाँ सहयोग लिएका छन् ।

एमाले नेता रघुजी पन्तसहित तीन जनाले २७ लाख रुपैयाँ लिएको तथ्याङ्क छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले उपचारका नाममा १२ लाख ९० हजार रुपैयाँ लिनुभएको छ । प्रत्येक सरकारका पालामा राज्य कोषबाट नेता र पहुँचवालाले जनताले दुःख गरेर तिरेको करमा रजाई गरिरहेका छन् ।

आर्थिक सहायता लिने पूर्वराष्ट्रपति रामवरण यादवले यो आर्थिक वर्षसहित पटक–पटक गरेर १ करोड ५० लाख रुपैयाँ लिनुभएको छ । यस्तै, पूर्वउपराष्ट्रपति परमानन्द झाले ९ लाख ३० हजार रुपैयाँ लिंदा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक गरेर राज्य कोषबाट १ करोड ३६ लाख रुपैयाँ उपचारका लागि लिनुभएको छ ।

त्यस्तै, कांग्रेस नेतृ सुजता कोइरालाले ५० लाख, कांग्रेस नेता देवेन्द्रराज कँडेलले १५ लाख ८४ हजार, गोविन्दराज जोशीले २७ लाख रुपैयाँ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ३८ लाख रुपैयाँ लिनुभएको छ। सत्तामा भएका र सत्ताका भएकाहरुको आशिर्वाद पाएकाहरुले एक पटक मात्र होइन दोहोर्याइ–तेह्याईसम्म सुविधा भोग गर्न पाइरहेका छन् ।

जो कोही पनि सत्तामा भएका बेला आफ्नो तजबिजका आधारमा राज्य कोषको दोहन गर्ने संस्कार सरुवा रोगजस्तै बनेको छ । जुनसुकै सरकारमा रहेकाहरुले मनपरी रकम बाँड्ने प्रवित्ति दुखद् भएको जानकार बताउँछन् । यसलाई रोक्न निश्चित मापदण्ड आवश्यक छ ।

सत्ता र शक्तिसँग साइनो गाँसेकाले मात्र पाउने आर्थिक सहायताले सामाजिक विषमता बढाउँछ । अर्कोतर्फ राज्यकोषको विवेक प्रयोग नगर्दा आर्थिक विकृति समेत बढ्नेतर्फ सचेत हुन जानकारको सुझाव छ । जनताले तिरेको करमा ब्रह्मलुट गर्न खप्पिस नेताहरुले मापदण्ड पालना गर्न ध्यान दिने गरेका छैनन् । जनताले तिरेको करमालुट कहिलेसम्म नेताज्यूहरु ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्