आर्थिक

श्रीलंका २०२२ मै यसरी टाट पल्टिन सक्ने खतरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २४ गते १८:२४
श्रीलंका २०२२ मै यसरी टाट पल्टिन सक्ने खतरा (भिडियो रिपोर्टसहित)

२४ पुस २०७८ काठमाडौं । पछिल्लो समय आर्थिक र मानवीय संकटसँग जुधिरहेको दक्षिण एसियाली मुलुक श्रीलंका २०२२ मै टाट पल्टिन सक्ने खतरा बढेको छ ।

महंगीले दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएर आम नागरिकको पहुँचभन्दा बाहिर पुग्न थालेको छ । राज्यकोष पनि लगभग खाली हुने अवस्थामा छ । कोरोनाका कारण पर्यटन उद्योग धरासायी बन्दा श्रीलंका आर्थिक चपेटामा परेको हो ।

श्रीलंका अहिले आर्थिक तथा मानवीय संकट व्यहोर्न बाध्य बनेको छ । मुद्रास्फीतिले पनि रेकर्ड तोडेको छ । गएको नोभेम्बर महिनामा मात्र श्रीलंकाको मुद्रास्फीति ११ दशमलव १ प्रतिशत पुगेको छ । त्यसैले पनि राष्ट्रपति गोटाबय राजापक्षले आर्थिक संकट घोषणा गरेका छन् ।

विश्व बैंकको अनुमान अनुसार कोरोना महामारी सुरू भएदेखि श्रीलंकामा पाँच लाख मानिस गरिबीको रेखामुनि परेका छन् । जब की सन् २०१९ को रिपोर्ट अनुसार श्रीलंका दक्षिण एसियामा माल्दिभपछि दोस्रो धनी मुलुकको स्थानमा थियो।

प्रति व्यक्ति आय ४ हजार ६७ दशमलव ८५ डलर थियो । कोरोना महामारीका कारण उत्पन्न वित्तीय तथा मानवीय संकट बढ्दै जाँदा सन् २०२२ को कुनै पनि महिनामा श्रीलंका टाट पल्टेको घोषणा हुन मात्रै बाँकी छ ।

महामारीको प्रभावसँगै पर्यटन क्षेत्र धराशायी बनेको छ । देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत योगदान पु¥याउने पर्यटन क्षेत्र ठप्प प्रायः भएपछि २ लाख मानिसले रोजगारी गुमाएको विश्व यात्रा र पर्यटन परिषद्ले जनाएको छ । योसँगै कोरोना पीडितका लागि सरकारले ल्याएको कर कटौती नीतिका कारण राजस्व पनि निकै खुम्चिएको छ ।

जसले गर्दा यो संकटको अवस्था सामना गरिरहनु परेको छ। सरकारी विवरणमा मूल्यवृद्धि ११ दशमलव १ प्रतिशत भनिएपनि खासमा त्यो २५ प्रतिशतभन्दा माथि रहेको अनुमान छ । जसको कारण पढेलेखेका युवा वर्गका प्रत्येक ४ जनामध्ये १ जनाले देश छोड्न चाहेको जनाइएको छ ।

श्रीलंकाको अर्थतन्त्रका लागि सबैभन्दा ठूलो समस्या विदेशी ऋणको भार हो । श्रीलंकासँग यतिबेला १ अर्ब ६ करोड डलर मात्रै विदेशी मुद्रा बाँकी छ । तर १ वर्षभित्र सरकार र निजी क्षेत्रले मात्रै ७ अर्ब ३ करोड डलर बराबरको विदेशी ऋण तिर्नुपर्ने भाका छ ।

त्यसमध्ये चीनको मात्र ५ अर्ब डलरभन्दा बढी ऋण छ । तत्कालको संकट समाधानका लागि मासिक ५० लाख डलर बराबरको चिया इरान निर्यात गर्ने बारेमा इरानसँग छलफल गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *