Main News

उठाइयो जम्बोडाँडामा लुकिछिपी थुपारिएको फोहर, कारवाही गरिने

हिमालय टिभी
२०७८ पुष २४ गते १४:०४
उठाइयो जम्बोडाँडामा लुकिछिपी थुपारिएको फोहर, कारवाही गरिने

२४ पुस २०७८ काठमाडौं । गोकर्णेश्वर नगरपालिका– ५ स्थित वाग्मती नदी किनारको जम्बोडाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहरको थुप्रो सफा गरिएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ४१९औँ हप्तामा त्यस क्षेत्रमा सफा गरी नदी किनारमा थुपारिएको तीन गाडी फोहर व्यवस्थापन गरिएको हो ।

वाग्मती सुन्दरता सरकोर मञ्चको आयोजनामा भएको सफाइमा त्यस क्षेत्रका विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो । जम्बोडाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहर यसपटकसमेत गरी मञ्चको नेतृत्वमा १२औँ पटक सफा गरिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

सफाइका क्रममा ९५ प्रतिशत कुहिने फोहर लुकिछिपी फालिएको भेटिएको थियो । पाँच प्रतिशतमात्र नकुहिने फोहर पाइएको जनाइएको छ । फोहरलाई घरमै वर्गीकरण गरे कौसीखेतीमा उपयोग गर्न सकिने भए पनि चेतनाको अभावमा सडक र नदी किनारमा फालेर दुर्गन्धित बनाइएको छ ।

नदी किनारमा प्लाष्टिक बालेर वायु प्रदूषण बनाउने क्रम बढ्न थालेको छ । फोहर फाल्नेलाई समातेर कानूनी कारबाही गर्ने अधिकार नगरपालिका र प्रहरीलाई भए पनि अहिलेसम्म कार्यान्वयन नगर्दा सडक, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहरको थुप्रो बढ्दै आएको छ ।

आजको सफाइपछि जम्बोडाँडा क्षेत्रमा वडाले सिसिटिभी क्यामेरा जडान गर्ने तयारी गरेको जानकारी पनि दिइएको छ । सिसीटिभीसँगै प्रहरी र नगर प्रहरीसमेत राखेर लुकिछिपी फोहर फाल्नेलाई समातेर कानूनी कारबाही गर्ने तयारी गरिएको पनि त्यहाँका वडाध्यक्ष नारायणबहादुरसुवेदीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *