राजनीति

नागरिकता नभएकालाई मताधिकार: कति सम्भव कति असम्भव ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २३ गते २०:५४
नागरिकता नभएकालाई मताधिकार: कति सम्भव कति असम्भव ? (भिडियो रिपोर्टसहित)

२३ पुस २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि सामाजिक सञ्जालमार्फत नागरिकता नभएका व्यक्तिले पनि मतदान गर्न पाउनुपर्ने कुरा उठाउनु भयो । मतदाता नामावलीमा नाम लेखाउनसमेत नागरिकता अनिवार्य रहेको सन्दर्भमा यस्तो माग राख्नु कति उचित छ त ?

विगत केही चुनावयता गैरआवसीय नेपालीहरुले पनि मतदानको अधिकार पाउनुपर्छ भन्ने आवाज उठाइरहेका छन् । नेपाल छोडेर वर्षौसम्म विदेशमै बसेका र उतैको आधारकार्ड, ग्रिनकार्ड वा नागरिकतासमेत लिइसकेका व्यक्तिले पनि नेपालका आम निर्वाचनमा आफूलाई सहभागी गराउनुपर्ने माग गर्दै आएका छन् ।

गैरआवसीय नेपालीका यी आवाजलाई सम्बोधन गर्न कतिपय राजनीतिक दलका नेता र अभियन्ताहरुसमेत लागिपरेका छन् । यद्यपि गैरआवसीय नेपालीका रुपमा विदेशमा रहने व्यक्तिलाई कुन मापदण्डका आधारमा यस्तो अधिकार दिने भन्ने अन्योल कायमै छ ।

विदेशकै नागरिकता लिइसकेका वा कामका शिलशिलामा केही वर्षमात्रै विदेशमा रहने वा बसोबासको अधिकार मात्र पाएका र नेपालको नागरिकता त्याग गरिनसकेका विभिन्न मापदण्डका व्यक्तिहरु भएका कारण सरकारी संयन्त्रले यसबारे निर्णय लिन नसकेको जस्तो देखिन्छ ।

तर यतिबेला जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले नागरिकता नभएका व्यक्तिलाई मतदानको अधिकार दिनुपर्ने मागले चर्चा बढाएको छ । उहाँको मागमा नेपालमै जन्मिएका वा जन्मसिद्ध नेपाली जसले अहिलेसम्म विभिन्न कारणले नागरिकता पाएका छैनन्, उनीहरुलाई पनि मतदानको अधिकार दिनुपर्ने उल्लेख छ ।

नागरिकताको प्रमाणपत्र पाउनु वा नागरिक हुनु बेग्लै विषय भएको तर्क गर्दै अध्यक्ष यादवले नेपालमै जन्मेका कतिपयले नागरिकताको प्रमाणपत्र पाएका छैनन् भन्दैमा गैरनागरिक नहुने बताउनु भएको छ ।

त्यसैले निर्वाचन आयोगले यस्तो विषयमा निर्णय गरेर मतदानको अधिकार दिनुपर्ने तर्क उहाँको छ । तर मतदाता नामावली ऐन २०७३ को दफा ६ को क अनुसार मतदाता हुनका लागि नेपाली नागरिक हुन अनिवार्य छ । र नेपाली नागरिक हुनुको प्रमाण भनेकै नागरिकताको प्रमाणपत्र हो । मतदाता नामावलीमा नाम टिपाउनका लागि अनिवार्य रुपमा नागरिकता प्रमाण पत्र आवश्यक पर्छ ।

नेपालको सन्दर्भमा १६ वर्षकै उमेरमा नागरिकताको प्रमाणपत्र बनाउन सकिन्छ भने मतदानको अधिकारका लागि थप दुई वर्ष कुर्नुपर्छ । अर्कोतर्फ नागरिकताको परिचय पत्र देखाएर मात्रै पनि मतदान गर्न पाईँदैन । निर्वाचन आयोगले तोकेबमोजिम मतदाता नामावलीमा नाम दर्ता गरी मतदाता परिचयपत्रसहित मतदान केन्द्रमा पुगेर मात्र मतदान गर्न पाइन्छ ।

यस्तो सन्दर्भमा जसपा अध्यक्ष यादवले राखेको नागरिकताविहीनहरुले पनि मतदानको अधिकार पाउनुपर्छ भन्ने माग निर्वाचन आयोगले पुरा गर्ने अवस्था छैन । नागरिकता प्राप्त गर्नुअघि नेपालमा जन्मिने बालबालिकाले प्राप्त गर्ने पहिलो प्रमाणपत्र जन्मदर्ताको हो ।

स्थानीय पञ्जिकाधिकारीले प्रदान गर्ने यो प्रमाणपत्रको प्रयोजन विद्यालय भर्ना बाहेकमा देखिँदैन । अर्कोतर्फ जन्मदर्ता प्रमाणपत्र सुलभसमेत हुने भएकाले यसको नियमनमा समस्या त छँदैछ, यसैलाई आधिकारिक प्रमाणपत्रका रुपमा लिने हो भने नागरिकता नै किन भन्ने प्रश्न उठाउन मिल्ने ठाउँ प्रशस्त छ ।

विभिन्न देशबाटै बसाइसराइ गरी पुग्ने र विस्तारै तिनै व्यक्तिहरुसमेत नेतृत्वमा पुग्नेसम्मको सहजता भएको अमेरिकामा समेत मतदाता बन्नका लागि नागरिकता अनिवार्य छ । भारतलगायत दक्षिण एसियाली देशमा नागरिकताको प्रमाणपत्र भएको र १८ वर्ष पूरा भएको व्यक्तिलेमात्र बालिग मताधिकार प्रयोग गर्न पाउँछ ।

नेपालमा भावनामा बहकिएर जतिसुकै गम्भीर विषयमा पनि हल्काफुल्का सवालहरु तेस्र्याउने र सस्तो लोकप्रियता कमाउने पाटो एकातिर छँदैछ, अर्कोतिर पूर्वी तराई क्षेत्रमा नागरिकताको समस्या पनि छ ।

राज्यको वेवास्ता र नागरिकसम्बन्धी ऐनमै पटकपटक भएका त्रुटिले जन्मसिद्ध नागरिकता पाउनुपर्ने ठूलो संख्या अनागरिकको अवस्थामा छ । मतदतानसँग जोडिएको विषयभन्दा पनि सबै नेपालीले नागरिकता प्राप्त गर्ने र दुरुपयोग रोक्ने कुरामा हाल सरकारमै रहेको पार्टीका अध्यक्ष यादव थप लाग्नुपर्ने पो हो कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्