आज ६१ जिल्लामा एमालेको जिल्ला अधिवेशन हुँदै
२३ पुस २०७८ काठमाडौं । नेकपा एमालेले आज देशका अधिकांश जिल्लाको अधिवेशन गर्दैछ।
एमालेले आज ६१ जिल्लामा अधिवेशन गर्न लागेको हो । प्रतिकूल मौसम र तयारी नपुगेका ९ जिल्लाका लागि भने अधिवेशनको अर्को मिति तय गरिने छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान एघार बजे भर्चुअल माध्यमबाट अधिवेशनको एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ ।
एमाले केन्द्रीय कार्यालय थापाथलीको एक्सन रुमबाट अधिवेशनको भर्चुअल उद्घाटन र सम्बोधन हुनेछ । अध्यक्ष ओलीले आजै काठमाडौं र काभ्रे जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।
जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । प्रदेश अधिवेशन भने आगामी माघ ८ गर्ने तयारी एमालेको तयारी छ ।
जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ ।एमाले संगठन विभागले जिल्ला नेतृत्व सम्बन्धमा मापदण्ड बनाई ७७ वटै जिल्लामा परिपत्र गरेको छ।
मापदण्ड अनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ।
एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ (११) अनुसार हुने एमालेले जारी गरेको सर्कुलरमा उल्लेख छ।
जिल्ला अधिवेशनबाट एमालेको नयाँ जिल्ला कमिटी चयन हुनेछ । यसअघि वडा र पालिकामा एकैपटक अधिवेशन सम्पन्न भएका थिए ।
प्रतिक्रिया