साढे ३३ किलो सुन तस्करी र शाक्य हत्या आरोपी उप्रेतीको थुनछेक बहस आज
२२ पुस २०७८ काठमाडौं । साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस आज हुँदैछ।
सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षीय रमेश हिजो ढिलोगरी मात्रै जिल्ला अदालत मोरङमा हाजिर भएका थिए । उप्रेतीको आज मात्रै थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिनुभयो ।
युएई बस्दै आएका उप्रेती मंगलबार नेपाल आउँदा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई बुधबार दिउँसो विराटनगर पुर्याएको थियो । गत २७ मंसिरमा मुख्य आरोपीमध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए ।
थुनछेक बहसपछि उनी ३ लाख धरौटी बुझाएर छुटेका थिए । २२ मंसिरमा न्यायाधीश भरत लम्सालको इजलासले तस्करीको सुनको लगानीकर्ता मध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते ५६ जना प्रतिवादीले सफाइ दिएको थियो। सो मुद्दामा ८ जनालाई भने दोषी ठहर गरिएको थियो ।
गोरे भनिने चुडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो ।
भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।
प्रतिक्रिया