Main News

कांग्रेसले टुंगो लगायो ६ जना राष्ट्रिय सभा सदस्यको उम्मेदवार

हिमालय टिभी
२०७८ पुष १९ गते १६:४६
कांग्रेसले टुंगो लगायो ६ जना राष्ट्रिय सभा सदस्यको उम्मेदवार

१९ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि ६ जनाको नाम टुंगो लगाएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस कार्य समिति बैठकले प्रदेश १ मा झापाका गोपालकुमार बस्नेत, बागमतीमा केन्द्रीय कार्यालयमा मुख्यसचिव रहेका कृष्णप्रसाद पौडेल, गण्डकीमा गोरखाकी कमला पन्त, कर्णालीमा सुर्खेतकी दुर्गाकुमारी गुरूङ, लुम्बिनीमा रूपन्देहीका युवराज शर्मा र सुदूरपश्चिममा कैलालीका नारायण मिश्रलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आजै बालुवाटारमा बसेको सत्ता गठबनधनको बैठकले राष्ट्रियसभाको १९ सिटका लागि हुन लागेको निर्वाचनमा गठबन्धनबीच भागबण्डा गरेको थियो । जसअनुसार कांग्रेसको भागमा परेका ६ स्थानका लागि कांग्रेसले उमेदवार तय गरेको हो ।

राष्ट्रिय सभामा कांग्रेसले उमेदवार बनाएका झापाका बस्नेत यसअघि राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गरेर पनि राष्ट्रिय सभा सदस्य हुनबाट रोकिनुभएको थियो ।

त्यस्तै, मुख्यसचिव पौडेल काठमाडौं क्षेत्र नम्बर ७ मा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको थियो भने पन्त सहमहामन्त्रीमा पराजित हुनुभएको थियो । मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा बीरबहादुर बलायरसँग पराजित हुनुभएको थियो । तर कांग्रेसले उमेदवार तय गर्दा न्यायोचित रुपमा निर्णय गरेको दाबी गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा ६ जना उम्मेदवारको नाम प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय समितिले सो नाम सर्वसम्मत अनुमोदन गरेको हो । कांग्रेसले संसदीय समिति गठन गरेर त्यसबाट उम्मेदवार तय गर्नुपर्ने भए पनि केन्द्रीय समितिबाटै उम्मेदवार तय गरेको छ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नुपर्ने चुनावी कार्यतालिका छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *