Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, सतर्कता अपनाउन सरकारको आग्रह

हिमालय टिभी
२०७८ पुष १८ गते १७:१०
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, सतर्कता अपनाउन सरकारको आग्रह

१८ पुस २०७८ काठमाडौं । नेपालमा कोरोनाको नयाँ भेरिएन्ट फैलन नदिन थप सतर्कता अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।

कोरोनाको थप संक्रामक भेरिएन्ट ओमीक्रोन नेपालमा भित्रिसकेकाले सबै निकाय अझ सतर्क र पूर्व तयारीका साथ रहनु अपरिहार्य रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न, गराउन, समुदायका जोखिम क्षेत्रहरु पत्ता लगाई एन्टीजेन परीक्षण बढाउनतथा पहिचान भएका कोभिड १९ का केसहरुको उचित व्यवस्थापनमा समन्वय र सहयोग गर्न स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागलाई आग्रह गरेको छ ।

कन्ट्याक्ट ट्रेसिङ बढाउन, सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा कोरोनाविरुद्धको खोप प्रयोगमा वृद्धि गर्न र घरमै आइसोलेसनमा रहेका वा क्वारेन्टिनमा रहेकाको समुचित फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न पनि महाशाखाले भनेको छ ।

यसैबीच आज देशभर थप २ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । २ जनाको मृत्यु भएको छ । ५ हजार ९ सय ६२ जनाको पीसीआर र १ हजार ६ सय ६९ जनाको एन्टीजेन विधिबाट गरि ७ हजार ६ सय ३१ जनामा गरिएको परीक्षणमा २ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाको अवधिमा २ सय ९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार ९ सय ७१ जना सक्रिय संक्रमित छन् । आज १ लाख ३३ हजार ८ सय १२ जनालाई कोरोनाविरुद्धको खोप दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *