राजनीति

आठौं महाधिवेशनमा प्रचण्डको प्रतिवेदनः नयाँ बोत्तलमा पुरानै रक्सी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १७ गते २०:३६
आठौं महाधिवेशनमा प्रचण्डको प्रतिवेदनः नयाँ बोत्तलमा पुरानै रक्सी (भिडियो रिपोर्टसहित)

१७ पुस २०७८ काठमाडौं । ‘नयाँ बोतलमा पुरानो मदिरा’ भने जस्तै माओवादी केन्द्रको आठौं महाधिवेशनले पारित गरेको राजनीतिक दस्तावेज विगत जस्तै थन्किनेछ । कमजोरी स्वीकार गर्ने तर व्यवहारमा नउतार्ने प्रचण्ड प्रवृत्तिमा खासै भिन्नता आउने छैन ।

गत वर्ष नेकपा एमालेबाट छुटिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको एक कार्यक्रममा चरम नैराश्यता प्रकट गर्नुभयो । उहाँलाई त्यतिबेला पार्टी नै विघटन गरेर बसौँ कि जस्तो लागिसकेको थियो । त्यसपछि पनि उहाँले विभिन्न समयमा पार्टी नै विघटन गरेर बस्ने र आत्मकथा लेख्ने झोँक चलेको थियो ।

सार्वजनिक कार्यक्रम र विभिन्न अन्तर्वार्तामा प्रचण्डको यो फ्रस्टेशन पटकपटक छताछुल्ला भयो । उहाँमा देखिएको फ्रस्टेशनभित्र एकीकरण गरेर ठूलो बनाएको पार्टी विभाजन, नेताहरुले देखाएको सरकारमा जाने होड र केही व्यक्तिगत कारणहरु थिए होलान् ।

हालै पार्टीको आठौँ महाधिवेशनमा प्रचण्ड आफैले लेखेको ४४ पृष्ठ लामो प्रतिवेदनमा चाहीँ अब पार्टीलाई नयाँ गति दिने उद्घोष पनि प्रचण्डले गर्नुभएको छ । यो प्रतिवेदनमा केही समयअघि मात्रै अभिव्यक्त भएको वितृष्णा बाहेकका थुप्रै कुरा छन् । सशस्त्र युद्धकालमै भुत्ते बनेर थन्क्याइएको प्रचण्डपथ प्रतिको समवेदना, पार्टीले अंगीकार गरेको माओ र मार्क्सवादविरुद्धका गतिविधि र पटकपटक सत्तामा पुगेर नागरिकका सपनाहरुमाथि कुदाइएको उदार पूँजीवादी चरित्रको समीक्षा समेटिएको छ ।

निर्मम आत्मआलोचनाका नाममा पेश गरिएको दस्तावेजले भावुक बनेका १७ सय प्रतिनिधिसँग पुनः सहानुभूति बटुल्ने र नेतृत्वमाथिको पकड कायम राख्ने उत्कट चाहनाको प्रतिध्वनि बोलेको छ । २०६९ सालको हेटौडा महाधिवेशनले स्वीकार गरेको राजनीतिक क्रान्ति सम्पन्न भएको र पार्टीलाई उत्पादनसँग जोडेर आर्थिक क्रान्ति गर्ने दस्तावेजभन्दा पनि पछाडि फर्किएर तयार पारिएको ‘समाजवादको नेपाली बाटो’ दस्तावेज आठौँ महाधिवेशनको बन्दसत्रबाट पारित भएको छ ।

प्रचण्डको आत्मआलोचना भनिएपछि कतिपय समूहले आँखा चिम्लेर प्रतिवेदनमाथि थपडी पिटेका छन् । कतिपयले नेतृत्वको बहस नै आवश्यक नपर्ने भन्दै प्रचण्डको स्तुति गान गरे भने केही समूहले पार्टीलाई बहुपदीयमा समेत लैजान नपर्ने बरु प्रचण्डलाई बा घोषणा गरेरै जानुपर्नेसम्मका हमदर्दी देखाए ।

समाजवादको नेपाली बाटो पढेर उदेक मानेका केही नेताहरुले फरक मत राख्ने दुस्साहस पनि गरे । तर उनीहरुको यो फरक मत पूरक मतका रुपमा केही समय पेरिसडाँडाको चिसो दराजमा थन्किने र धमिराको आहारा बन्नेछ । १७ सय थपडी पाएको प्रचण्डको प्रतिवेदन पनि अध्यक्षका रुपमा प्रचण्ड नै अनुमोदन भएपछि रंगीन कभरसहित दराजको कुनातिरै थन्किने छ ।

सशस्त्र युद्धकालमा माओवादीले पहिले टाउको काट्ने र त्यसपछि सफायाको चेतावनी दिने गरेकोमा अहिले त्यो भूमिका परिवर्तन गरेको छ । अहिले उदार पूँजीवादको विरोध गर्ने र दलाल करार गरिएकाहरुसँगै घाँटी मिलाएर सत्ताको स्वाद लिइरहने ।

प्रचण्डले नै भनेजस्तो उहाँको पार्टीका नेताहरु सत्तामा जान तानातान गरिरहेका छन्, प्रचण्ड आफै पनि सरकारमा बसिरहने र आफ्नाहरुलाई सत्ताको अत्तर छर्किरहने काम गरिरहनु भएको छ । वर्ग संघर्ष र वर्गीय भेदको कुरा गर्ने प्रचण्डसहित माओवादी नेताहरु चरम पूँजीपति शैली र सोखमा छन् ।

शान्ति प्रक्रियासँगै पलङ, हेयर जेल र घडीको सोखिनका रुपमा चर्चा कमाएका प्रचण्डको बास नै उपहारमा प्राप्त बंगलामा छ । तैपनि झुप्रोमा बसेर चप्पल पड्काउँदै संगठन निर्माण गर्ने सपना बाँडिरहनु भएको छ । युद्धका कयौँ सहयात्रीहरु लाखापाखा भइसक्दा पनि प्रचण्ड प्रतिवेदनरुपी सपनाका पानाहरुमा आत्मआलोचनाको ढोङ पस्केर कार्यकर्तालाई भ्रमित पार्ने कोसिस गर्दै हुनुहुन्छ ।

नेकपा एमालेसँग गरिएको चुनावी गठबन्धनकै विरोध भइरहेका बेला एकल निर्णयको बलमा प्रचण्ड ठूलो पार्टीको अध्यक्ष बन्ने लालसाले एकीकरणमा होमिनु भयो । साढे दुई वर्ष प्रधानमन्त्री बन्ने सम्झौतामा हस्ताक्षर ठोक्दै पार्टी एकीकरण गरेका उहाँ पार्टी विभाजनसम्म आइपुग्दा पनि एकताको उद्देश्य राम्रै थियो भनेर टालटुलको प्रयासमा देखिनु भयो ।

जारी महाधिवेशनमा लेखनाथ न्यौपाने, राम कार्कीलगायतले पेश गरेको फरक मतलाई पुरक प्रतिवेदनका रुपमा स्वीकार गरिएको भनिए पनि फरक मतमार्फत् लगाइएका संगीन आरोपहरुको प्रचण्डले जवाफ दिन सक्नुभएन ।

लेखनाथको फरक मतमा भनिएको जस्तै माथिमाथि उडान गरिरहेको प्रतिवेदनले माओवादीलाई पुनः परिवर्तनको मसिहा बनाउने दृष्टिकोण दिन सकेको छैन । बरु प्रचण्डभित्र विकास भइरहेको व्यक्तिवादी अराजकता र संसदवादी रुझान अन्ततः बा प्रवृत्तितिर उन्मुख भइरहेको छ ।

संविधनसभा, संघीयता, समावेशी र समानुपातिक प्रतिनिधित्व जस्ता उपलब्धिको जस माओवादीलाई जाला तर संसदवादी दलहरुसँगकै सहकार्यमा हाँसिल भएका यी उपलब्धिको पनि एकलौटी जस पनि माओवादीले पाउने अवस्था छैन । अध्यक्ष प्रचण्डको प्रतिवेदनमा १७ सय प्रतिनिधिले झण्डै एक हप्ता गरेको गलफत्ती आगामी नवौँ महाधिवेशनमा फेरि बिर्सिने र उत्पादनमा आधारित भन्दै अर्को प्रतिवेदनको खाका आउने त होइन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्