पूर्वप्रधानन्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी
१६ पुस २०७८ काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षलगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।
न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, बेञ्च, बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले आज सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो ।
अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन् । अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च, बार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्वन्यायाधीशहरु, बारका पूर्व नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताउनुभयो ।
उहाँहरुले भ्रष्टाचार गरेर सम्पत्ति कमाएको ठहर अभियानले समेत गरेकाले छानबनको माग गर्दै उजुरी दिएको अधिवक्ता नेपालले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘अहिलेसम्मका सबै पूर्वप्रधानन्यायाधीश, सर्वोच्च अदालतका सबै पूर्वन्यायाधीश, त्यसैगरी नेपाल बार एशोसिएशनको नेतृत्व, बेञ्च, बार समन्वय समिति नामको विचौलिया कमिटी, सेटिङ कमिटी नै भ्रष्टाचारको कारण हो र विचौलिया हो भनेर सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित न्यायाधीशसमेत सम्मिलित उच्चस्तरीय समितिले गरेको अध्ययन प्रतिवेदनले पनि त्यो समन्वय समिति पनि विचौलिया कमिटी हो भनेर भनेको हुनाले त्यो समन्वय समितिमा रहेका न्यायाधीश, पूर्वन्यायाधीश, बारका पूर्व नेतृत्व, वर्तमान नेतृत्व समेत त्यसमा संलग्न रहेको त्यही प्रतिवेदनले पुष्टि गरेको छ ।’
अभियानले पूर्वप्रधानन्यायाधीश, पूर्व न्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उहाँका परिवारका सदस्यउपर पनि छानबिन गरिनुपर्ने माग गरेको छ ।
प्रतिक्रिया