राजनीति

शक्तिशाली पदमा आकांक्षी धेरै लोकतान्त्रिक प्रक्रियाबाट चयन हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १४ गते २०:२८
शक्तिशाली पदमा आकांक्षी धेरै लोकतान्त्रिक प्रक्रियाबाट चयन हुने (भिडियो रिपोर्टसहित)

१४ पुस २०७८ काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको अन्तिमसम्म पनि चितवनको सौराहामा केपी शर्मा ओलीले आफू बाहेकका पदमा कसलाई अघि सार्नुहुन्छ भन्ने जुन चासो र उत्सुकता थियो , माओवादी केन्द्रको जारी महाधिवेशनमा पनि ओलीले जस्तै प्रचण्डले गोजीबाट पदाधिकारीमा कस्को नाम अघि सार्नुहोला भन्ने चासो छ ।

नेतृत्व चयन महाधिवेशन हलको अधिकारको कुरा हो । तर, एमाले र माओवादी केन्द्रमा पदाधिकारी चयनमा अध्यक्षहरु हावी हुँदा कार्यकारी अधिकारका हिसावले अध्यक्षपछि शक्तिशाली मानिने महासचिव को होला भन्ने विषयमा प्रतिनिधिहरु अन्योलमा छन्।

कांग्रेसको जस्तै एमाले विधानले पनि महासचिवलगायतका पदाधिकारीको चयन महाधिवेशन प्रतिनिधिहरुको प्रत्यक्ष मतदानबाट गर्ने व्यवस्था गरेको छ। तर, पार्टी विभाजन र सम्भावित गुटबन्दीको त्रास देखाएर त्यो अधिकार अध्यक्ष केपी शर्मा ओलीले लिनुभएको थियो ।

यही कारण एक महिनाअघि सौराहामा एमालेको नयाँ महासचिव को होला भन्ने जानकारी सीमितबाहेक अन्य नेताहरुलाई थिएन। महासचिवका लागि प्रतिस्पर्धामा विष्णु पौडेल र शंकर पोखरेल भए पनि ओलीको गोजीबाट पोख्रेलको नाम निस्किदा पौडेल पाखा लाग्नुपर्यो । महाधिवेशनले त्यसैलाई अनुमोदन गर्यो । तर नेकपा माओवादीमा भने पदाधिकारी चयन प्रकृया एमालेको भन्दा फरक छ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासिचवसहित सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीबाट चुनिन्छन्। जारी आठौँ महाधिवेशनले पहिले २ सय ९९ सय केन्द्रीय सदस्य चयन गर्नेछ । त्यसपछि त्यही केन्द्रीय समितिले १५ सदस्सीय पदाधिकारी चयन गर्नेछ ।

प्रचण्ड पनि यही २ सय ९९ सदस्यीय केन्द्रीय सदस्यहरुबाट पुनः अध्यक्षमा चयन हुनुहुनेछ । सिद्धान्ततः २ सय ९९ सदस्यीय केन्द्रीय कमिटीले चयन गर्ने भएपनि पदाधिकारी छनौटमा प्रचण्डकै निर्णायक भूमिका रहनेछ। त्यसमध्ये पनि भावि महासचिवमा कस्लाई अघि सारिनेछ भन्ने आम प्रतिनिधिको चासो छ ।

माओवादी केन्द्रको प्रस्तावित विधानले अध्यक्षपछि महासचिवलाई सबैभन्दा बढी अधिकार दिएको र महासचिवको भूमिका अध्यक्षको सहयोगी हुने भएकाले पनि अन्य पदाधिकारीभन्दा महासचिवलाई चासोका साथ हेरिएको छ ।

पार्टीको महासचिव अध्यक्ष प्रचण्डले रुचाएको र उहाँले चाहे अनुसार सहयोग गर्न सक्ने नेता नै हुनेछन्। त्यसैले, महासचिव चयन गर्दा औपचारिकताका लागि प्रचण्डले पार्टीका अन्य नेताहरुसँग परामर्श गरे पनि आफूलाई सहज हुने नेता अघि सार्ने निश्चित छ । महासिचव हुनका लागि धेरै नेता आकांक्षी हुनु स्वभाविकै हो । कृष्णबहादुर महरा, पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, शक्ति बस्नेत, हरिबोल गजुरेल, चक्रपाणि खनाल महासचिवका आकांक्षी हुनुहुन्छ । तर उनीहरुमध्ये प्रचण्डको नजर जसमा पर्छ उसैको पल्लाभारी हुनेछ ।

जारी महाधिवेशनमा एक वरिष्ठ उपाध्यक्षसहित भूगोलअनुसार ७ उपाध्यक्ष हुने भएकाले महरा र भुसालमध्येबाटै एक उपाध्यक्ष र अर्का महासिचव हुने अनुमान गरिएको छ । महासचिवका बलिया दावेदार पुन र शर्मामध्येबाट एक जनालाई रोज्दा कार्यकर्ता पंक्ति तलैसम्म विभाजित हुने र गुटको विउ रोपिनेमा प्रचण्ड सचेत देखिनुहुन्छ । पुनलाई महासचिव बनाउँदा शर्मा पक्षधर असन्तुष्ट हुने, शर्मालाई बनाउँदा पुन पक्षधर असन्तुष्ट हुने सम्भावनाका कारण पनि भुसालको सम्भावना बलियो देखिन्छ । त्यसमाथि ३५ प्रतिशत महिला प्रतिनिधि बनाएको माओवादीले त्यो संख्या बढाएर ४० प्रतिशत पुर्याउने अध्यक्ष प्रचण्डले नै बताइसक्नु भएको छ ।

महासचिव महिलालाई बनाउँदा राष्ट्रिय राजनीतिमा फरक सन्देश जाने र पार्टीको पक्षमा आधा आकाश ढाक्ने महिलाको आकर्षण बढ्ने भएकाले पनि पुन र शर्माभन्दा पम्फा भुसालको सम्भावना बलियो छ । अनि अर्कोतर्फ वरियतामा जनार्दनभन्दा वर्षमान अघि रहेपनि स्वास्थ्य उपचारका लागि चीनमा भएकाले महाधिवेशनमै नभएका पुनलाई अघि सार्न पनि प्रचण्डलाई सहज हुने छैन ।

जनयुद्ध शुरु हुनुअघि नै तत्कालिन संयुक्त जनमोर्चाको अध्यक्ष रहिसकेकी भुसाल शान्ति प्रक्रियामा आउनुअघिसम्म माओवादी नेतृत्वपंक्तिको बरियतामा पुन र शर्माभन्दा अघि हुनुहुन्छ । पुन वा शर्मा दुबैजना महासचिवको जिम्मेवारीका लागि योग्य व्यक्ति हुन् तर एउटालाई बनाउँदा अर्को पक्ष असन्तुष्ट नहुन् र पार्टीभित्र गुटबन्दी सिर्जना नहोस् भन्ने विषयमा अध्यक्ष प्रचण्डको सरोकार देखिन्छ । बाँकी कोटको गोजीबाट महासचिवमा कस्को नाम निस्कने अझै केही समय कुर्नै पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्