विदेश

अफगानिस्तानमा तालिवानले लगायो महिलामाथि यस्तो अंकुश

हिमालय टिभी
२०७८ पुष १२ गते ७:३६
अफगानिस्तानमा तालिवानले लगायो महिलामाथि यस्तो अंकुश

१२ पुस २०७८ काबुल । अफगानिस्तानमा तालिवानले महिला अधिकारमाथि फेरि अर्को अंकुश लगाएको छ। महिलाले अब एक्लै लामो दूरीको यात्रा गर्न पाउने छैनन् ।

छोटो दूरीको यात्रा बाहेक उनीहरुको साथमा नजिकको नातेदार पुरुष हुनु अनिवार्य गरिएको छ । तालिवान अधिकारीहरुले लामो यात्रामा निस्कने महिलासँग नजिकको नातेदार नभए यात्राका लागि ट्रान्सपोर्ट सुविधा नदिइने बताएको बीबीसीले उल्लेख गरेको छ ।

तालिवानको सदाचार फैलाउने र दुराचार रोक्ने मन्त्रालयले यसबारे जरुरी निर्देशन नै जारी गरेको छ । मन्त्रालयका प्रवक्ता अकिक मुजाहिरले ७२ किलोमिटर भन्दा लामो यात्रा गर्ने महिलालाई नजिकको पुरुष नातेदार बिना यात्रा गर्ने सुविधा नमिल्ने बताएका छन् ।

यस्तै हिजाब नलगाउने महिलालाई आफ्नो गाडीमा नराख्न समेत सवारी चालकहरुलाई निर्देश गरिएको छ । मानवअधिकारवादीहरुले भने तालिवानको यो निर्णयको विरोध गरेका छन् । तालिवानले यसअघि सवारी साधनहरुमा गीत नबजाउन भनेको थियो ।

यस्तै महिलाले अभिनय गरेको सिरियल, नाटक आफ्नो च्यानलमा प्रशारण नगर्न टेलिभिजन च्यानलहरुलाई निर्देशन दिएको थियो । समाचारसंग जोडिएका महिला टेलिभिजन पत्रकारलाई हिजाब लगाएर मात्र कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।

गत अगष्ट १५ मा अफगानिस्तान कब्जा गरेयता महिलाविरुद्ध तालिवानले कडा नीति तालिवानले अख्तियार गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *