Main News

अनेरास्ववियू क्रान्तिकारीको सपथग्रहणमा किन भयो हात हालाहाल ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ८ गते ७:००
अनेरास्ववियू क्रान्तिकारीको सपथग्रहणमा किन भयो हात हालाहाल ? (भिडियो रिपोर्टसहित)

८ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को नवनिर्वाचित कमिटीको सपथग्रहण तथा पहिलो बैठकमै हात हालाहाल भएको छ । विवादकै कारण पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम समेत रद्द हुन पुग्यो ।

बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय कमिटिको पहिलो पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रम राखिएको थियो । दिउँसो एक बजेबाट शरु हुने कार्यक्रमको मुख्य अतिथि माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्त्याइएको थियो ।

एक बजे शुरु हुने भनिएको कार्यक्रम चार बजेपछि मात्रै शुरु भयो भने मुख्य अतिथि प्रचण्ड पनि कार्यक्रममा नआउने सूचना प्राप्त भयो । कार्यक्रममा संगठन विभाग प्रमुख हितमान शाक्य, पूर्व अध्यक्ष नरेन्द्र न्यौपाने, रञ्जित तामाङ, अघिल्ला कमिटीका पदाधिकारी र हालै चयन भएको नयाँ केन्द्रीय कमिटिका १ सय ९९ सदस्यहरु सहभागी गराइएको थियो । तर कार्यक्रमको बाहिर पनि थुप्रै व्यक्तिहरु थिए । उनीहरु पनि कार्यक्रममा जसरी पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै थिए । तर उनीहरुलाई भित्र प्रवेशमा रोक लगाइयो ।

बाहिर बसेका व्यक्तिहरु २२ औं राष्ट्रिय सम्मेलनको आयोजक कमिटीमा रहेका सदस्यहरु, प्रदेशबाट आएका प्रतिनिधिहरु थिए । भित्र छिर्न नपाएपछि उनीहरु जबरजस्ती गर्न खोजेपछि विवादले उग्ररुप लियो र हात हालाहाल नै भयो ।

कार्यक्रम सञ्चालक दिपेश पुनले वातावरण शान्त बनाउने प्रयास गर्नुभयो तर पनि केहीबेर विवाद जारी रह्यो । पछि पुनले नै आयोजक कमिटीमा रहेका सदस्यहरुलाई भित्र छिराउने विशिष्ठ निर्णय भएको र नाम टिप्ने काम भैरहेकाले केहीबेर धैर्य गर्न आग्रह गर्नुभयो ।

पुनको आग्रह पछि भने माहोल केही शान्त बन्यो र कार्यक्रम शुरु गरियो । कार्यक्रम शुरु भए लगत्तै सम्बोधन गर्न पुगेकी संगठनकी अध्यक्ष पञ्चा सिंहले धेरै नेताहरुलाई केन्द्रीय कमिटीमा ल्याउन चाहेपनि विधानका कारण नसकिएको प्रष्टीकरण दिनुभयो ।

अनेरास्ववियु क्रान्तिकारीको विवाद कार्यक्रमस्थलको प्रवेश मात्र होइन, यो नेतृत्व चयनमा देखिएको असन्तुष्टि थियो । सिंहलाई पार्टी अध्यक्ष प्रचण्डले नै अध्यक्ष तोकेर नयाँ कार्यसमितिचयन गर्न निर्देशन् दिनु भएको थियो ।

दाहालको चाहनामा नै निर्वाचन नगरी सिँधै नेतृत्व चयन गर्ने नीति माओवादी केन्द्रले लिएको थियो । नेतृत्व चयन प्रक्रियामा असहमति जनाउने समूहले त्यतिबेला विरोध गरेको थियो । कार्यक्रमस्थलमा पनि विरोध हुने संकेत पाएपछि पहिलो बैठकमा असन्तुष्ट समूहलाई प्रवेश निषेध गरिएको थियो । सर्वसम्मतीको नाममा अर्को पक्ष असन्तुष्ट हुनु स्वभाविक हो । नेतृत्वले बेलैमा ध्यान दिएर सहमति हुन नसके निर्वाचनको प्रक्रिया अपनाएको भए सायद यो विवाद हुने थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *