Main News

नेतृत्व नभई नीतिको मुख्य एजेण्डामा माओवादीको सम्मेलन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ८ गते ६:३७
नेतृत्व नभई नीतिको मुख्य एजेण्डामा माओवादीको सम्मेलन (भिडियो रिपोर्टसहित)

७ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्व नभई नीतिको मुख्य एजेण्डासहित राष्ट्रिय सम्मेलनमा होमिएको छ। वडा, पालिका र प्रदेशसम्मको सम्मेलन सकाएको माओवादीले अब क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि भन्दै पुस ११ देखि १३ गतेसम्म सम्मेलन गर्दैछ । माओवादीले १५ सय भन्दा बढी प्रतिनिधि सहभागी भएर सम्मेलनमा पार्टीको नयाँ कार्यदिशाका विषयमा छलफल गर्ने भएका छन् ।

जनयुद्ध शुरु गर्दा २०५१ सालको माओवादी नेतृत्व र अहिलेको नेतृत्व पार्टी छोडेर जाने बाहेक अधिकांश उही छन् । पार्टी स्थापनाको ३० वर्षदेखि नेतृत्वमा खासै फेरबदल छैन । जुन उद्देश्यका साथ माओवादी नामको पार्टी जन्माइएको थियो, जुन विचार बोकेर हजारौंले बलिदान दिएका थिए त्यसको समीक्षा अहिलेसम्म भएको छैन ।

पहिलोपटक २०६४ सालमा भएको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको माओवादी २०७० र त्यसपछि २०७४ सालमा भएको निर्वाचनसम्म तेस्रो पार्टी बनेको छ। आगामी निर्वाचनमा माओवादी अझै तल पुग्नेसम्मको चुनौती छ । यो १५ वर्षको बिच माओवादीमा देखिएको परिर्वतनको समीक्षा माओवादीले राष्ट्रिय सम्मेलनमा गर्ने भएको छ ।

३० वर्षदेखि अध्यक्ष प्रचण्डले माओवादी पार्टी चलाइरहनुभएको छ । भर्खरै मात्र नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माले र राप्रपाले महाधिवशेनबाट नेतृत्व चयन गरेका छन् । त्यसैले माओवादीमा पनि नेतृत्वको दबाब परिरहेको त छ तर तत्काल प्रचण्डको विकल्प माओवादीमा देखिएको छैन । त्यो आँट गर्न पनि नयाँ पुस्ता तयार छैन । राष्ट्रिय सम्मेलनमा नेतृत्वको बहस नभए पनि टुटफुटको श्रृङ्खलामा गुज्रिएको माओवादीले सम्मेलनमा वैचारिक राजनीतिक बहस गर्ने भएको छ ।

पुस ११ देखि १३ गतेसम्म हुने सम्मेलनका लागि भनेर अध्यक्ष प्रचण्ड दस्तावेज लेखनमा व्यस्त हुनुहुन्छ । पार्टी संगठनदेखि माओवादीको समाजवादको गन्तव्यसम्म कार्यदिशा दस्तावेजमा आउने बताइएको छ । तर अध्यक्ष पछिको शक्तिशाली पद महासचिवमा समेत नेतृत्वमा धेरैको आकांक्षा देखिएको छ । अन्य पदाधिकारीको कस्तो टिम बन्छ भने प्रतिक्षाको विषय समेत छ । आकांक्षीहरूबीच चुनाव हुन्छ की फेरि पनि टिके प्रथामै माओवादी अगाडी बढ्छ चासोको विषय बनेको छ।

यो राष्ट्रिय सम्मेलनलाई महाधिवेशन नभने पनि माओवादीले यसैको आडमा नेतृत्व चयन गर्दैछ। राष्ट्रिय सम्मेलन अरु पार्टीले जस्तो नेता चुन्ने नभएको बताएको माओवादी लामो समयदेखि एउटै नेतृत्वले पार्टी चलाउने क्रम भंगतालाई सम्मेलनले के गर्छ भनेर राजनीतिक वृतमा प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *