राजनीति

कांग्रेसको त्रुटी : उम्मेदवार बन्नै अयोग्य विनोद चौधरी सदस्यमा निर्वाचित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ६ गते २०:३२
कांग्रेसको त्रुटी : उम्मेदवार बन्नै अयोग्य विनोद चौधरी सदस्यमा निर्वाचित (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उम्मेदवार नै बन्न अयोग्य व्यक्ति नै केन्द्रीय सदस्य निर्वाचित भएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट महाधिवेशन गरेको भन्दै प्रशंसा बटुलेको कांग्रेसमा सार्वजनिक पछिल्लो परिणाममा यस्तो त्रुटीहरु देखिएको हो ।

नेपाली कांग्रेसको मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा उद्योगपति समेत रहेका विनोद चौधरी निर्वाचित हुनु भएको छ । मधेसी खुल्लातर्फ ३ जना निर्वाचित हुने व्यवस्था रहेकोमा चौधरी २२०६ मतसहित विजयी हुनुभयो । अन्य केन्द्रीय सदस्यमा अजय चौरसिया र डा. चन्द्रमोहन यादव निर्वाचित हुनु भयो ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन कांग्रेसका पुरानै नेता हुनुहुन्छ भने चौधरी कांग्रेसका नयाँ क्रियाशील सदस्य हुनुहुन्छ । तर नेकपा एमालेबाट संविधानसभा सदस्य रहेका विनोद चौधरी कांग्रेस प्रवेश गरेको धेरै भएको छैन ।

कांग्रेसको विधानअनुसार निरन्तर १० वर्ष क्रियाशील सदस्यता लिएको व्यक्ति मात्र केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाउने व्यवस्था छ । तर चौधरीलाई भने विधानले रोकेन । उहाँ त्यसअघि नै सजिलै केन्द्रीय सदस्यको उमेदवार बन्नुभयो र निर्वाचित पनि हुनुभयो । आखिर विधानअनुसार उमेदवार हुने योग्यता नै नपुगेको चौधरीको उमेदवारी कसरी दर्ता भयो त ?

पार्टीका मुख्यसचिवको पत्रअनुसार उमेदवारी दर्ता गर्नुले नै निर्वाचन समितिको हैसियतबारे प्रष्ट हुन्छ । निर्वाचन समितिले पार्टीको विधानअनुसार योग्यता पुगेको,नपुगेको हेर्नुपर्ने हो । त्यो हेरेको भए चौधरी उमेदवार हुनबाटै रोकिने प्रष्ट थियो ।

निर्वाचन समितिको मौनता र मुख्यसचिवले पार्टी विधानविपरीत योग्यता पुगेको पत्र तयार गरिदिँदा चौधरी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । उहाँको उमेदवारीमाथि दाबी विरोध समेत परेको देखिँदैन । दाबी विरोध नपरेकाले चौधरीको जितमा पनि निर्वाचन समिति केही बोल्न नमिल्ने निष्कर्षमा छ ।

महाधिवेशन प्रतिनिधिको मतबाट निर्वाचित हुनु लोकतान्त्रिक प्रक्रियामा स्वभाविकनै हो । तर, कांग्रेसजस्तो लोकतान्त्रिक दलमा योग्यता नै नपुगेको व्यक्ति उमेदवार बन्नु र सो उमेदवारीमाथि दाबी विरोध ससमेत नपर्नुले भने कांग्रेसलाई गिज्याइरहेको छ । किनभने लोकतन्त्र भनेको अंकगणित मात्र होइन विधि र प्रक्रिया पनि हो भन्ने बारे कांग्रेसलाई सम्झाइरहनै पर्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *