एमसीसीको विरोधमा आज पनि काठमाडौंमा प्रदर्शन (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ काठमाडौं । अमेरिकी सहयोय परियोजना (एमसीसी) खारेजीको माग गर्दै विभिन्न राजनीतिक दलले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले सहितका दलले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । एमसीसी संसदबाट पारित गर्न नदिने चेतावनी दिँदै आएका नेकपा मालेका महासचिव सिपी मैनालीले सत्तारुढ र प्रतिपक्षी दलका नेताहरु बाह्य शक्तिका सामू झुकेका कारण अहिलेको समस्या आएको आरोप लगाउनुभयो ।
नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसीसी अनुदान नभएको दाबी गर्नुभयो । उहाँले एमसीसीमार्फत अमेरिकाले नेपाललाई सैन्य रणनीति भित्र पारेर चीनसँग लड्नका लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको दावी गर्नुभयो । नेता गजुरेलले ५० करोड डलरमा नेपालको स्वाधीनता विक्री गर्न नदिने समेत बताउनुभयो ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले संसदवादी दलमा पनि देशभक्त नेताहरु भएकाले सहजै एमसीसी पास हुन नसक्ने जिकिर गर्नुभयो ।
प्रतिक्रिया