Main News

प्रधानन्यायाधीशका विषयमा दलहरु मूकदर्शक भएर बस्न मिल्दैनः बार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ६ गते १४:२२
प्रधानन्यायाधीशका विषयमा दलहरु मूकदर्शक भएर बस्न मिल्दैनः बार (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमनको सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताउनुभएको छ ।

आज बार एशोसिएशनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एशोसिएशनको भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि सबै राजनीतिक दललाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताउनुभयो ।

राजनीतिक दलहरु न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मुकदर्शक भएर बस्न नमिल्ने उहाँको भनाइ छ । भ्रष्टाचारमूक्त न्यायपालिका बनाउनका लागि राजनीतिक दलहरुले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाल बार एशोसिएशनले उहाँको बहिर्गमनका लागि १७ बुँदा विभिन्न दललाई पनि दिइसकेका छौँ । प्रधानमन्त्रीदेखि लिएर प्रतिपक्ष दलका नेता, सबैका संसदीय दलका नेताहरुलाई हामीले दिइसकेका छौँ । उहाँहरुले यो विषयमा आफ्नो निर्णय गर्नुपर्दछ । मूकदर्शक भएर बस्नु भनेको न्यायपालिकालाई भ्रष्टाचारमा डुबाइराख्ने उहाँहरुको उद्देश्य हो भने त्यही अनुसार भन्नुप¥यो । होइन भने, न्यायपालिकालाई भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनको लागि उहाँहरुले पहल गर्नुपर्दछ । नेपाल बार एशोसिएशनको, सम्पूर्ण कानून व्यवसायीहरुको आव्हान हो ।’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले आफु नांगिएको कुरा स्वीकार गरिसकेको दाबी गर्नुभयो । प्रधानन्यायाधीश नांगिदैमा न्यायपालिका नसप्रने र न्याय प्रशासन चल्न नसक्ने उहाँले बताउनुभयो । न्यायपालिकालाई नांगिन नदिनका लागि प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘उहाँ नांगिदैमा न्यायपालिका सप्रिन्छ ? न्यायपालिकाको प्रशासन यो ढंगबाट चल्न सक्छ ? के हामी यो चाहान्छौ ? उहाँ नांगिनुभएको छ भने घरमा गएर नांगिनुस् । न्यायपालिकालाई नांगिन नदिनुस् । तपाईँले राजीनामा गर्नुस् । बहिर्गमन हुनुस् भन्नेकुरा हामीले उहाँलाई अनुरोध गर्दै आएका छौँ ।’

केही दिनदेखि स्थगन भएको बार एशोसिएशनको आन्दोलन पुनः शुरु भएको छ । आज कानून व्यवसायीहरुले नाराबाजीसहित सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म विरोधको कार्यक्रम जारी रहेको नेपाल बार एशोसिएशनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *