राजनीति

लोकप्रिय बन्न यस्तो भ्रमको उपयोग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ४ गते २०:४४
लोकप्रिय बन्न यस्तो भ्रमको उपयोग (भिडियो रिपोर्टसहित)

४ पुस २०७८ काठमाडौं । लोकप्रिय बन्ने होडमा नेताहरुले जनहितका काम होइन, फण्डा र स्टन्टहरु प्रदर्शन गर्ने गरेका छन् । राजनीतिक दलका नेताहरु मात्रै नभएर प्रधानमन्त्री र मन्त्रीसम्मले सस्तो लोकप्रियता र जनतामा भ्रम सृजना गर्न विभिन्न हतकण्डा अपनाउने गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यो तस्वीरमा देख्न सकिन्छ, कुर्सीमा प्रधानमन्त्री त्यसपछि टेबल र छेकबार त्यसको बाहिरपट्टि दुई जना व्यक्तिले देउवालाई झुकेर नमस्कार गरिहेका छन् ।

सामाजिक सञ्जालमा धेरै शेयर भएको यो तस्वीरलाई लिएर धेरैले देउवाको आलोचना गरेका छन् । त्यस्तै हालै कांग्रेसको महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले आफूलाई लगाईदिएको माला र खाँदा निकालेर माओवादी कार्यकर्ताबाट कुटपिट भएपछि मेरुदण्ड बाँचिएको भनिएका काभ्रेका दिपेन्द्र गिरीलाई लगाइदिएपछि पनि शर्माको आलोचना भइरहेको छ ।

आफ्नो नेतृत्वका पार्टी सरकारमा भएको र माओवादी पनि संगै सरकारमा रहेको अवस्थामा दोषीलाइ कानुनी कठघरमा उभ्याउन नसक्ने तर मेरुदण्ड भाँचिएका गिरीलाई खाँदा र माला लगाएर शर्माले राजनीति फण्डा मात्रै गर्न खोजेको आरोप लागेको छ । प्रधानमन्त्री देउवा र महामन्त्री शर्मा मात्रै नभएर सस्तो लोकप्रियताका लागि बेला बेला विभिन्न फण्डा गर्ने नेताहरुको सूची लामै छ ।

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले पनि यस्तै फण्डा जारी राख्नु भएको छ । आफ्नो पराजयको दोष थापाले पूर्वराजा ज्ञानेन्द्र शाह माथि थोपरेर छानविनको माग गर्दै आउनु भएको छ ।

अहिलेकै श्रम मन्त्री कृष्ण श्रेष्ठ किसानले पनि यस्तै फण्डा गर्दै आउनु भएको छ । बैदेशिक रोजगारीमा जाने युवाहरु दिनहुँ ठगिरेहका छन् तर मन्त्री श्रेष्ठ भने बैदेशिक रोजगारीमा जाने युवाहरुको दुख बुझे जस्तो गर्दै विभिन्न म्यापवरमा पुगेर झपार्ने जस्ता कार्य गर्दै आउनु भएको छ ।

त्यस्तै पर्यटन मन्त्री प्रेम आलेले पनि कहिले निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल पुगेर कर्मचारीलाई थर्काउने त कहिले सार्वजनिक बसमा यात्रा गरेर सस्तो लोकप्रियता कमाउने धाउन्नमा विभिन्न फण्डा गर्दै आउनु भएको छ ।

२०६७ सालमा उर्जामन्त्री बनेका गोकर्ण विष्टले निकै फण्डा गर्नुभयो । उहाँले त्यसबेला महशुल नतिर्ने सरकारी कार्यालयहरुमा आफैं लाइन काट्दै हिड्नु भयो । यी केही उदाहरण मात्रै हुन् । छिटो लोकप्रिय बन्ने र जनताको मन जित्न सकिन्छ कि भन्ने उद्देश्यबाट प्रेरित भएर जिम्मेवार नेताहरुबाट फण्डा गर्ने गरेको विश्लेषकको बुझाइ छ ।

राजनीतिक स्टन्ट गर्दा क्षणिक लाभ मिलेपनि दीर्घकालीन रुपमा यस्ता कार्यले नेताको विश्वशनीयता घट्ने जानकारहरुको भनाइछ । नेताहरुले विभिन्न हथकण्डासँगै सस्तो नारा पनि दिने गरेका छन् । तत्काल गरिहाल्नुपर्ने काम नगरेर सपना देखाएर जनतालाई भुलभुलैयामा राख्ने र निर्वाचनमा जित्ने रणनीति नेताहरुले अपनाउने गरेका छन् ।

विभिन्न फण्डा गरेर क्षणिक रुपमा जनतालाई भ्रममा राख्न त सकिएला तर यस्ले देश र जनताको मात्रै नभएर स्वयम राजनीतिकर्मीका लागि पनि प्रतिउत्पादक हुन सक्छ । यसतर्फ नेताहरुको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्