Main News

एमसीसी पारित गर्ने विषयमा सत्तारुढ दलहरुबीचमै विवाद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ४ गते १९:१४
एमसीसी पारित गर्ने विषयमा सत्तारुढ दलहरुबीचमै विवाद (भिडियो रिपोर्टसहित)

४ पुस २०७८ काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता पारित गर्ने विषयमा सत्तारुढ गठबन्धन दलबीचमै विवाद भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसको प्रस्तावलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अस्वीकार गरे । एमालेले बहिष्कार गरेको सर्वदलीय बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसदबाट पारित गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

उहाँको प्रस्तावमा गठबन्धन घटक माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले अस्वीकार गर्नुभयो ।

बैठकमा सहभागी गठबन्धनकै अर्को घटक राष्ट्रिय जनमोर्चाका प्रतिनिधि, नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल लगायतले पनि अहिलेकै अवस्थामा एमसीसी संसदबाट पारित गर्न नहुने अडान राख्नुभयो ।

बैठकमा कांग्रेस बाहेकका गठबन्धन घटकहरुले एमसीसीका कतिपय प्रावधान संशोधन भएमात्र पास गर्न सकिने बताएका थिए । तर, अर्को घटक जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने एमसीसी संसदबाट पारित हुनुपर्ने मत राख्नुभएको थियो ।

प्रमुख प्रतिपक्षी एमालेले भने सर्वदलीय बैठक बहिष्कार गरेको थियो । एमालेले एकीकृत समाजवादी सहभागी कुनै पनि फोरममा नजाने अडान राख्दै आएको छ । कांग्रेसले भने एमालेलाई फकाउन अलगै छलफल गर्ने भएको छ ।

गठबन्धनमा गडबडी देखेको एमालेले भने यही मौकामा आफूले राख्दै आएको माधवकुमार नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्ने माग पुरा हुनुपर्ने शर्त अघि सार्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्ने पक्षमा उभिए एमालेले एमसीसीमा साथ दिन सक्ने संकेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *