Political Hightlights

दुई वटा अध्यादेश पेश भएसँगै प्रदेश २ प्रदेशसभा बैठक ९ दिनका लागि स्थगित

हिमालय टिभी
२०७८ मंसिर २९ गते १५:४६
दुई वटा अध्यादेश पेश भएसँगै प्रदेश २ प्रदेशसभा बैठक ९ दिनका लागि स्थगित

२९ मंसिर २०७८ जनकपुरधाम । प्रदेश २ को आज बसेको आठौं अधिवेशनको पहिलो बैठकमा दुईवटा अध्यादेश पेश भएसँगै प्रदेश सभा बैठक ९ दिनका लागि स्थगित भएको छ ।

सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेश गरेका हुन् ।

शुरुमा प्रमुख प्रतिपक्षी दल लोसपाले अध्यादेश पेश गर्न नदिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

प्रदेशसभाको आजको कार्यसूचीमा प्रदेशको नामाकरण तथा राजधानी तोक्नेसम्बन्धी प्रस्तावलाई हटाइएको थियो ।

प्रदेश सभाको अर्को बैठक पुस ८ गते बिहिवार दिनको १ बजे बस्ने छ ।

मुख्यमन्त्री राउतको राजिनामा माग
प्रदेश नं २ को प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सदस्यले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमअन्तर्गत भएको साइकल खरिदमा अनियमितता देखिएकाले मुख्यमन्त्री राउतलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले माग गर्नुभयो ।

“अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात लिएपछि मुख्यमन्त्रीले प्रदेशसभाकै बैठकमा अलिकति दोषी देखिए मार्ग प्रशस्त गर्छु भन्नुभएको थियो”, सोनलले प्रश्न गर्नुभयो, “अख्तियार प्रमुखले त साइकल खरिदको कागजात हेर्दा पहिलो चरणमा भ्रष्टाचार भएको भनिसकेको छ, यसबारे के भन्नुहुन्छ मुख्यमन्त्रीज्यू ?”

अध्यादेशको पनि विरोध
सोनलले प्रदेश सरकारले कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्यालय स्थापनाका लागि ल्याएको अध्यादेशको पनि विरोध जनाउनुभयो । उहाँले भन्नुभयो, “न त कुनै इर्मेजेन्सीको अवस्था छ, नत कुनै दैवीप्रकोपको अवस्था छ, यसमा घोर असहमति व्यक्त गर्दछु, यो लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको अवमूल्यन हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्