Main News

बर्दियामा आजदेखि बाघ गणना शुरु गरिँदै

हिमालय टिभी
२०७८ मंसिर २९ गते ९:५९
बर्दियामा आजदेखि बाघ गणना शुरु गरिँदै

२९ मंसिर २०७८ बर्दिया । बर्दिया-बाँके कम्प्लेक्समा आजदेखि बाघ गणना शुरू हुँदैछ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया(बाँके कम्प्लेक्समा बाघ गणना हुन लागेको हो । बर्दिया निकुञ्जको मुख्य कार्यालय ठाकुरद्वारामा एक औपचारिक कार्यक्रम गरी गणक निकुञ्ज प्रवेश गर्नेछन् ।

यस कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रीडमा बाघ गणना गरिने छ । यसअघि सन् दुई हजारमा बर्दिया राष्ट्रिय निकुञ्जमा ४० वटा बाघ रहेकोमा २००९ मा उक्त संख्या घटेर १८ पुगेको थियो ।

यस्तै २०१३ मा बाघ संख्या ५० र २०१८ मा ८७ पुगेको तथ्याङ्क निकुञ्जले सार्वजनिक गरेको थियो । २०१८ को गणना अनुसार बर्दिया निकुञ्जमा ८७ र नेपालकै सबैभन्दा कान्छो ११ वर्षअघि मात्रै घोषणा भएको राष्ट्रिय निकुञ्ज बाँकेमा २१ वटा वयस्क बाघ रहेका थिए । २०१८ को बाघ गणनाबाट बर्दिया(बाँके कम्प्लेक्समा एक सय आठ वटा वयस्क बाघ रहेको तथ्याङ्क छ । यस कम्प्लेक्समा गणना फागुन मसान्तमा सकिनेछ ।

राष्ट्रिय बाघ सर्वेक्षण अभियान अन्तर्गत देशभरका निकुञ्ज तथा आसपासका क्षेत्रमा रहेका बाघको संख्या पत्ता लगाउन तीन वटा कम्प्लेक्समा क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना भइरहेको छ ।

प्रत्येक चार वर्षमा हुने बाघ गणना अन्तर्गत यस वर्ष यही मंसिर १९ गतेदेखि गणना शुरू भैसकेको छ । शुरुमा चितवन(पर्सा कम्प्लेक्सबाट गणना थालिएको थियो । त्यसपछि शुक्लाफाँटा कम्प्लेक्समा गणना हुनेछ ।

सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर अर्थात् दुई सय ५० पुर्‍याउने सरकारको लक्ष्य छ । यस वर्षको बाघ अनुगमनबाट देशैभरिका निकुञ्जमा बाघको संख्या बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *