राजनीति

केन्द्रीय नेतृत्वका लागि अर्बपतिदेखि गुण्डा नाइकेसम्म मैदानमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २६ गते २०:३३
केन्द्रीय नेतृत्वका लागि अर्बपतिदेखि गुण्डा नाइकेसम्म मैदानमा (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्व हत्याउन नेताहरुबीच कडा प्रतिस्पर्धा चलिरहँदा चुनावी दौडमा केही गुण्डा नाइके पनि देखिएका छन् ।

विभिन्न आपराधिक घटनामा मुछिएर प्रहरी कारवाही भोगिसकेका उनीहरु अहिले कांग्रेस महाधिवेशनमा मतदाताका रुपमा मात्र होइन केन्द्रीय नेतृत्वमा दाबा गर्ने तहमै पुगेका छन् ।

राजनीतिक दल र नेताहरुले आफूअनुकुल गुण्डाहरुलाई चुनावी अभियानमा प्रयोग गर्ने विषय नेपालको राजनीतिमा नयाँ भने होइन । संसदीय निर्वाचन होस् वा पार्टी निर्वाचन नेताहरुको वरिपरि तिनै बाहुबलीहरु बाक्लै देखिन्छन् ।

विरोधी पार्टीका नेता, कार्यकर्तामाथि जाइलाग्न र त्यस्तै परे बुथ कब्जा गर्न यस्ता गुण्डाहरुको प्रयोग हुँदै आएको थियो । कांग्रेसको १४औं महाधिवेशनमा यस्तैमध्येका केही गुण्डानाइकेहरु चुनावी प्रतिस्पर्धामै उत्रिएका छन् । गुण्डा नाइकेका रुपमा कुख्याती कमाएका राजु गोर्खाली र गणेश लामा कांग्रेस केन्द्रीय सदस्यको दौडमा देखिएका छन् ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा आइपुगेका लामा काभ्रे क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । विजयकुमार गच्छदारसँगै कांग्रेस प्रवेश गरेका लामा सभापति शेरबहादुर देउवाको प्यानलमै अटाएका छन् ।

देउवा समूहबाट उपसभापतिको उम्मेदवार रहेका गच्छेदारको अडानपछि लामा खुला सदस्यतर्फ प्यानलमा पर्न सफल भएका छन् । अझ रोचक त के छ भने गृहमन्त्री बालकृष्ण खाँणसमेत अटाएको प्यानलमा नै लामा पनि समावेश छन् । खाँण र लामा दुवैले सभापतिमा प्रधानमन्त्रीसमेत रहेका देउवाको पक्षमा मत मागिरहेका छन् ।

त्यस्तै, गुण्डा नाइकेकै रुपमा परिचित राजु गोर्खाली पनि कांग्रेस केन्द्रीय सदस्य बन्ने दौडमा छन् । सिन्धुपाल्चोक क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका गोर्खाली डा।शेखर कोइराला समुह निकट देखिएका छन् । उनी कोइरालाकै टिममा पर्न दौडधुप गरिरहेका छन् ।

केन्द्रीय सदस्य खुलातर्फ उनले उमेदवारी दर्ता गराएका छन् । कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको सूचीमा गोर्खालीको नाम खुला केन्द्रिय सदस्यतर्फ ८१ नम्बरमा छ ।

उसो त केन्द्रीय समितिमा दाबा गर्नेमा लामा र गोर्खाली मात्र देखिए पनि कांग्रेसको तल्लो तहमा धेरै गुण्डानाइके निर्वाचित भएर आएका छन् । प्रहरी सूचीमा गुण्डानाइकेका रुपमा दर्ज भएका काभ्रेका दावा लामा, काठमाडौंका तेजेन्द्र गुरुङ, सिन्धुपाल्चोकका सगुन श्रेष्ठ, सुनसरीका सिजन गुरुङ लगायत पनि कांग्रेस महाधिवेशन प्रतिनिधि छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले आँशु बगाउँदै सहभागी नहुने घोषणा गरिसकेको कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चुन्ने लहरमा आधा दर्जन बढी कुख्यात गुण्डा नाइकेहरु भने भेटिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्