राजनीति

रामचन्द्र पौडेल नेतृत्वको रेसबाट बाहिरिएपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २५ गते २०:३७
रामचन्द्र पौडेल नेतृत्वको रेसबाट बाहिरिएपछि… (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वको रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल बाहिरिनु भएको छ । १३ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएपछि संस्थापनइतर समूहको स्वभाविक दाबेदारका रुपमा आफूलाई अगाडि सारेका पौडेल साझा उम्मेदवार बन्न नसकेपछि सभापतिको रेसबाट बाहिरिनु भएको हो ।

२०६७ सालमा प्रधानमन्त्री पदमा १७ पटक पराजित भएपछि पछिल्लो पुस्ताले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई पराजितको पर्यायका रुपमा बुझ्ने गरेको छ । त्यतिबेलाको त्रुटिपूर्ण संवैधानिक प्रावधानको शिकार बनेका पौडेललाई १७ पटकको हार कलंकको टीका बन्यो ।

पौडेलसँगै प्रधानमन्त्रीको चुनावमा भिडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ८ पटक र एमाले नेता झलनाथ खनाल १६ पटक हार्नुभएको थियो । खनाल पछि माओवादीसँगको राजनीतिक समीकरणबाट प्रधानमन्त्री निर्वाचित हुनुभयो । तर आम जनजिब्रोमा पौडेलको पराजय झुण्डिरह्यो ।

पार्टीमा लामो समयदेखि क्रियाशील पौडेल सादगी, वैचारिक र अध्ययनशील नेताका रुपमा चिनिनुहुन्छ । केन्द्रीय सदस्य पनि निर्वाचनमार्फत् नै चयनको प्रक्रिया शुरु गरेको दशौँ महाधिवेशनमा सबैभन्दा धेरै मत प्राप्त गरेर लोकप्रिय नेताको छवि बनाएका पौडेल त्यसपछि पार्टी उपसभापति र वरिष्ठ नेताका रुपमा क्रियाशील हुनुभयो ।

वीपी कोइरालाको जननिर्वाचित सरकारमाथि राजा महेन्द्रले कु गरेपछि २०१७ सालदेखि पौडेल निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । पटकपटक लाभको पदमा पुगेर पनि खासै विवादमा नपरेका पौडेल इमान्दार र निस्कलंक छवि भएका नेताका रुपमा चिनिनुहुन्छ ।

पार्टीमा राम्रै प्रभाव भएको समयमा पनि पौडेलले गिरिजाप्रसाद कोइरालाको समीपमा रहँदासम्म गुट बनाउनु भएन । पौडेल पार्टी गुटगत राजनीतिबाट मुक्त हुनुपर्छ भन्ने सन्देश दिने नेताका रुपमा रहनुभयो ।

गिरिजाप्रसाद कोइरालासँगको टसलले पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाएका शेरबहादुर देउवासँग पार्टी एकीकरण भएपछि पनि आफ्नो राम्रै प्रभाव हुँदासमेत पौडेलले गुटको अभ्यास गर्नु भएन । बरु गुटहरुबीचको विवादमा पौडेलको भूमिका समन्वयकारी देखिने गरेको थियो ।

अन्तरपार्टी सम्बन्धमा पनि उहाँको भूमिका सँधैजसो संस्थागत हुने गरेको छ । पौडेलले शान्ति प्रक्रियापछि आदिवासी जनजाति, मधेसीलगायत विभिन्न समुदायसँग सम्झौैताहरुमा हस्ताक्षर गर्नुभएको छ । गत वर्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असंवैधानिक कदमविरुद्ध कांग्रेसले अग्रसरता लिनुपर्ने र असन्तुष्ट दलहरुको नेतृत्व लिएर अघि बढ्नुपर्ने कुरामा पौडेलले देउवालाई सबैभन्दा धेरै दबाब दिनुभएको थियो ।

१४ औँ महाधिवेशनको उद्घाटन मन्तव्यबाटै देउवाले आफूलाई मत मागिरहँदा पौडेलले कार्यकर्तालाई बलियो कांग्रेसको सपना बाँड्नु भयो । यी सबल पक्षका बाबजुद पौडेललाई पनि आफ्नो परिवारबाट माथि उठ्न नसकेको आरोप बेलाबखत लाग्ने गरेको छ । छोराछोरीदेखि सम्धीसम्मलाई संरक्षण गर्ने र लाभ लिने कुरामा उहाँको आलोचना भएको थियो ।

राजनीतिमा पार्टीभित्रकै चतुर खेलाडी देउवा, पारिवारिक र वंशजको विरासत बोकेका थुप्रै नेताहरुभन्दा उहाँ पृथक रहनु भयो । देउवाको जस्तो चातुर्य र कोइराला, सिंह र निधिहरुको जस्तो विरासत उहाँमा भएन । शुशील कोइरालाको निधनपछि अचानक कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका पौडेलले धेरै कुराको जोड घटाउ गर्न नपाउँदै महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी, त्यसपछिको आम निर्वाचनमा पार्टीको लज्जास्पद पराजय, ओलीको संसद विघटनको कदम जस्ता कुरामा अल्झिँदा अल्झिँदै सभापति पदका लागि उहाँको तयारीसमेत कमजोर देखिन्थ्यो ।

अन्ततः उहाँले देउवाविरुद्धका विभिन्न समूहलाई एक बनाउन नसकेपछि पार्टी सभापति लड्ने योजनामा पूर्णविराम लगाउनु भयो । साझा उम्मेदवार नबन्ने भएपछि सम्भवत हारको पर्यायबाट जोगिन पौडेल सक्रिय राजनीतिबाट पन्छिन खोजेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्