राजनीति

पार्टीहरुको महाधिवेशनमा नेता नीति कि नेतृत्व ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २२ गते २१:०८
पार्टीहरुको महाधिवेशनमा नेता नीति कि नेतृत्व ? (भिडियो रिपोर्टसहित)

२२ मंसिर २०७८ काठमाडौं । पार्टीको १४ औँ महाधिवेशनको संघारमा नेपाली कांग्रेसका नेताहरु नेतृत्व हत्याउन दौडधुपमा छन् ।

पटकपटक धकेलिएर हुन लागेको महाधिवेशनले कांग्रेसलाई नयाँ नेतृत्व मात्रै दिने भएको छ । पार्टीको भूमिका, विधि, प्रक्रिया र विचारबारे भने न छलफल हुने छ न त समीक्षा नै ।

हालै देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेले आफ्नो दशौँ महाधिवेशन सम्पन्न गरेको छ । पार्टीको नीति, विधि, विचार र सिद्धान्तबारे असोजमै गोदावरीमा विधान महाधिवेशन सम्पन्न गरिसकेको एमालेको दशौँ महाधिवेशनको मुख्य लक्ष्य नेतृत्व चयन नै थियो । महाधिवेशनबाट एमालेले पार्टी एक ढिक्का छ भन्ने सन्देश दिनु र नेतृत्वको नवीकरण गर्नु बाहेक अरु उद्देश्य थिएन ।

मुलुकको ठूलो दलले महाधिवेशन गर्दा त्यसबाट केही सन्देश प्रवाह होस् भन्ने पनि अपेक्षा हुन्छ । एमालेले केपी शर्मा ओलीकै नामबाट पार्टीलाई ब्राण्डिङ गर्ने, सरकारमा रहँदा ओलीले निर्वाह गर्न नसकेका भूमिकाको बचाउ गर्ने र नजिकिँदै आएका विभिन्न चुनावका लागि शक्ति परीक्षण र प्रदर्शन गर्ने उद्देश्य थियो । त्यसमा एमाले सफल भएको छ ।

एमालेको लगत्तै राजावादी एवम् परम्परावादी दलका रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि महाधिवेशन सम्पन्न गर्‍यो । २०६२र६३ को जनआन्दोलनले विस्थापित गरेको राजसंस्था पुनर्स्थापना गर्ने, धर्मनिरपेक्षतामा गइसकेको मुलुकलाई पुनः सनातन धर्ममै फर्काउने र संघीयता पनि खारेज गरी पश्चगमनतर्फै फर्किने एजेण्डा बोकेर हिँडेको राप्रपाको यो महधिवेशन पनि नेतृत्व चयनमै सिमित रह्यो । महाधिवेशनमा हुनुपर्ने नीति र विचारको बहस राप्रपाले पनि गरेन ।

यी दुई पार्टीको महाधिवेशनपछि मुलुकको सबैभन्दा पुरानो र आफूलाई लोकतन्त्रको जननी भन्ने पार्टी नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ । त्यसो त संविधानले दिएको सबैभन्दा पछिल्लो सीमामा पुगेर महाधिवेशन गर्न लागेको कांग्रेसले प्रक्रिया सुरु गरेकै एक वर्ष हुन लागिसक्यो ।

आफूलाई मासबेस पार्टी भन्ने तर क्याडर छनोटकै विवादमा सबैभन्दा बढी रुमल्लिएको कांग्रेसले केन्द्रीय महाधिवेशन गर्दा सबै जिल्लाको क्रियाशील सदस्यता विवादसमेत टुंगो लगाउन सकेको छैन । यही विवादको बाहनामा पटकपटक सारिएको म्याद अब थप उता सार्ने ठाउँ छैन र महाधिवेशन गर्नै पर्ने बाध्यता छ ।

कांग्रेस महाधिवशेनमा सँधैजस्तो यो पटक पनि नेतृत्वकै चर्चा बढी भइरहेको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवाद मुलमन्त्र भन्ने कांग्रेसले आफ्नो विचार र मार्गनिर्देशक सिद्धान्तका विषयमा छलफल गर्ने वा गर्नुपर्ने कहिल्यै ठान्दैन । अध्यात्मबाट समाजवाद र राजतन्त्रबाट लोकतन्त्रमा प्रवेश गर्नुबाहेक कांग्रेसले स्थापनाकालदेखिकै विचार र सिद्धान्तलाई अपरिवर्तनीय मार्गका रुपमा लिँदै हिँडेको छ । तर महाधिवेशनमा सामान्य रुपमा पार्टीको विधि, पद्धति, कार्यदिशा, कार्ययोजनामा छलफल र बहस हुनुपर्ने हो ।

संविधान कार्यान्वनको अवस्था, मौलिक हकहरुको कार्यान्वयन वा लोकतान्त्रिक विधि र कार्यान्वयनको प्रत्याभूति जस्ता कुरामासमेत नेतृत्वले छलफल गर्ने र कार्यदिशा तय गर्नुपर्ने हो । तर यस्ता कुरामा पार्टीले बहस र छलफल चलाएको देखिँदैन ।

कांग्रेसमा विधि, पद्धति, विचार, नेतृत्वको कार्यशैली, पार्टीको स्थिति जस्ता कुराहरुमा महासमिति बैठकमा छलफल गर्ने अभ्यास छ । महाधिवेशनमा पनि बन्दसत्रमा नेतृत्व, पद्धति, पार्टीको विधिबारे धक्कामुक्की गर्ने संस्कृति कांग्रेसले धान्दै आएको थियो । यसपटक उसले पनि नेतृत्व चयनका क्रममा यी सबै विषयलाई बाकसमा बन्द गरेर विधान महाधिवेशनमै लगेर खोल्ने भएको छ ।

ठूला पार्टीहरु नेृतत्व चयनका क्रममा पार्टीलाई नयाँ दिशा दिन सक्लान् कि नसक्लान भन्ने आम अपेक्षाविपरित एमाले र राप्रपाले जस्तै कांग्रेसले पनि नयाँ घरमुली तोक्नेबाहेक थप सन्देश नदिने प्रष्ट भएको छ । यतिबेला कांग्रेसमा एमालेमा जस्तै नेतृत्वको नवीकरणमात्रै हुने हो कि नयाँ व्यक्ति आउँछन् त्यो थाहा पाउन अझै एक हप्ता कुर्नुपर्नेछ । तर जोगी जुन आए पनि खरानी घसाई भने उस्तै हुने निश्चित जस्तै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्