को-को होलान् देउवाका सारथी ? (भिडियो रिपोर्टसहित)

२२ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वमा पुग्न होडबाजी गर्ने आकांक्षीहरुको दौडधुप तीव्र बनेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापतिमा दोहोरिने निश्चित बनेपनि उहाँका सारथीहरुको टुंगो लाग्न सकेको छैन । आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर छलफल गरेका देउवाका लागि पदाधिकारी छान्न सकस परेको छ ।
शुक्रबार महाधिवेशन उद्घाटन गर्ने कांग्रेसको कार्यतालिका छ । तर, त्यसको दुईदिन अघिसम्म पनि पदाधिकारीमा कस–कसले उम्मेदवारी दिने टुंगो लागेको छैन । आ–आफ्नो हिसाबमा केहीले उम्मेदवारी घोषणा गरेपनि प्यानलमा पर्न दौडधुप जारी राखेका छन् ।
सभापति देउवाले आफ्नो प्यानल बिहीबारसम्ममा घोषणा गर्ने तयारी गर्नुभएको छ । आकांक्षीहरुसँगको छलफलमा सभापति देउवाले मिलेर आउन निर्देशन दिनुभयो । सभापतिमा आफ्नो सुनिश्चितता खोजेका देउवा आफू पक्षका नेताहरुलाई विच्काउने मनस्थितिमा हुनुहुन्न । बरु, पदाधिकारीको संख्या थपेरै भएपनि व्यवस्थापन गर्नुपर्ने दबाब देउवालाई परेको छ ।
संस्थापन पक्षले मात्र पदाधिकारी थप्न सक्ने अवस्था छैन । पदकै रस्साकस्सीमा अलमलिएका संस्थापन इतरले पनि व्यवस्थापनका लागि पदाधिकारी थप्न मान्ने अपेक्षा संस्थापनले राखेको छ ।
आफू अनुकुल बनाउन विधान जुनसुकै बेला परिवर्तन गर्न बानिपरेकाहरुले नथप्लान भन्न सकिदैन । पदाधिकारीको संख्या थपे देउवालाई राहत हुन्छ । सहमतिबाटै आफ्नो पक्षबाट उम्मेदवारी तय गर्ने देउवा पक्षीय नेताहरुले दाबी गरेका छन् ।
तर, देउवा समूहलाई त्यति सजिलो छैन । पूर्णबहादुर खड्का, विजय गच्छदार उपसभापतिका आकांक्षी छन् । तर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला मिलाउँदा उहाँले उपसभापतिको आकांक्षा राख्न सक्ने सम्भावना छ । महामन्त्रीमा बालकृष्ण खाण, एनपी साउद, प्रकाशशरण महतले आकांक्षा देखाएका छन् ।
देउवा निकट मानिएका प्रवक्ता विश्वप्रकाश शर्माले त महामन्त्रीमा उम्मेदवारी घोषणा नै गरिसक्नुभएको छ । उहाँलाई देउवाले सहमहामन्त्रीको प्रस्ताव गर्नुभयो । तर, उहाँ मानिहाल्ने पक्षमा हुनुहुन्न । सहमहामन्त्रीका आकांक्षी भने संस्थापन पक्ष धेरै छन् । क्लस्टर अनुसार ८ पद रहेको सहमहामन्त्रीमा खस आर्यतर्फबाट देउवा पक्षका मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई र रमेश लेखकले पनि आकांक्षा राखेका छन् ।
दलिततर्फबाट सहमहामन्त्रीमा मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा, जनजातीतर्फ बहादुरसिंह लामा, सीता गुरुङ, भिष्मराज आङ्गदाम्बे र चीनकाजी श्रेष्ठको इच्छा देखिएको छ । संस्थापन पक्षबाटै महिलातर्फ सह–महामन्त्रीमा डीला संग्रौला, डिना उपाध्याय र पुष्पा भुसाल पनि आकांक्षा देखाएका छन् ।
कसैलाई नविच्काइ सभापति जित्ने दाउमा रहेका देउवाले आकांक्षीहरुलाई नै मिलेर आउन निर्देशन दिएका छन् । नेतृत्वमा पुग्ने रस्साकस्सीले कांग्रेसको १४औँ महाधिवेशन चुनावमा मात्र केन्द्रित हुने निश्चित छ ।
प्रतिक्रिया