कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक भोलि बस्ने
२२ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको अन्तिम केन्द्रीय कार्य समिति बैठक भोलि बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु भएको हो । महाधिवेशन तयारीबारे आवश्यक निर्णय गर्न बैठक बोलाइएको हो ।
पर्सि २४ गते कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदैछ । यसैबीच नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर प्रचारप्रसार गर्न नपाइने भएको छ । केन्द्रीय निर्वाचन समितिले आज आचारसंहिता जारी गर्दै महाधिवेशन हुने भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय सानेपाको ५ सय मिटर वरपर प्रचार प्रसार गर्न नपाइने जनाएको हो ।
यी स्थानमा उम्मेदवारले निर्वाचनसँग सम्बन्धित व्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्लेटलगायत टाँस्न र माइकिङ गर्न नपाउने भएका छन् । मतदानस्थल भृकुटी मण्डप र राष्ट्रियसभा गृहमा प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने निर्वाचन समितिले जनाएको छ ।
यस्तै निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन २४ गते तथा उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध तथा उम्मेदवारको पहिलो नामावली प्रकाशन २५ गतेका लागि तय गरेको छ । मनोनयन फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते र मतदान २७ गते हुने निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया