Main News

हिंसाविरुद्धको अभियान औपचारिकतामै सीमित, लैंगिक हिंसा बढेको बढ्यै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २२ गते १९:०६
हिंसाविरुद्धको अभियान औपचारिकतामै सीमित, लैंगिक हिंसा बढेको बढ्यै (भिडियो रिपोर्टसहित)

२२ मंसिर २०७८ काठमाडौं । लिंगका आधारमा हुने हिंसा न्यूनीकरणका लागि भनेर वर्षैपिच्छे अभियान चल्ने गरेको छ । यस अवधिमा लाखौं खर्चिएर शहरका होटलहरुमा कार्यक्रम तथा सडकमा र्‍याली हुने गरेको छ । तर हिंसाका घटना कम हुनुको सट्टा अझ बढ्दो छ ।

‘घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं ’भन्ने राष्ट्रिय नाराका साथ जारी १६ दिने अभियानका क्रममा राष्ट्रिय महिला आयोग लगायत सम्बद्ध संघसंस्थाले लैङ्गिक हिंसा विरुद्धमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।

तर यस्ता कार्यक्रमले हिंसाको दरमा कमी आएको छैन बरु विभिन्न स्वरुपका महिला हिंसाका घटनासम्बन्धी उजुरी बढ्दै गएका छन् । पछिल्लो समय महिलाहरुले शिक्षा, स्वतन्त्रता, सशक्तीकरण लगायतमा आफ्नो अधिकार खोज्दा बढी हिंसा हुने गरेको आयोगले जनाएको छ ।

घरेलुसँगै महिलामाथि हुने यौनिक तथा आर्थिक, सामाजिक ,साँस्कृतिक तथा राजनीतिक हिंसा कमी हुनुको साटो बढ्दै गएको छ । कालिमाटीस्थित प्रहरीको महिला सेलमा मात्र दैनिक एक दर्जन हाराहारीमा उजुरी पर्ने गरेका छन्।

चालु आर्थिक बर्षको कात्तिकसम्म घरेलु हिंसाका ९ सय ७५ वटा उजुरी परेको महिला सेलको तथ्याङ्क छ । पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै हुने हिंसाका साथै विवाहेत्तर सम्बन्ध र लिभिङ टुगेदरका कारण हिंसा बढेको प्रहरी निरीक्षक अनु लामा बताउनु हुन्छ ।

यस्तो अवस्थामा महिला हिंसाविरुद्धका लागि भन्दै गरिने कार्यक्रम भने होटेलको बन्द कोठामा सीमित रहने गरेकोमा आलोचना हुने गरेको छ । सम्बद्ध सरकार तथा गैरसरकारी संघ संस्थाले लैंगिक आधारमा सबै समान हुन् र हिंसा अपराध हो भन्ने बुझाउदै मानसिकता परिवर्तनका लागि कुनै पहल गर्न सकेका छैनन् । महिला आयोग भने लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम र अभियानले हिंसाको प्रकार बुझ्न तथा सचेत र सजग रहन सहयोग पुर्याएको दाबी गर्छ ।

चेतनाको अभावले हुने हिंसामा त चेतनामूलक कार्यक्रम र परामर्शले कमी ल्याउन सक्ला तर हिंसा के हो भनेर बुझ्ने जमातबाटै पनि हिंसा भएका घटना धेरै छन् । त्यसका लागि मानसिकतामै परिवर्तन आवश्यक छ ।

समाजमा अझै महिला हिंसाका घटना बाहिर ल्याउन नसक्नेहरु पनि धेरै छन् । साथै उजुरी नै गरे पनि सहज रुपमा कानूनी उपचार पाउने सम्भावना कम हुँदा कतिपय खुलेर बाहिर आउन सक्दैनन् । जसले गर्दा शहरका ५ तारे होटल र सडक र्यालीमा मात्र सीमित हिंसाविरुद्धको अभियान तथा कार्यक्रमहरु फितलो बन्दै गएका छन् ।

महिला सशक्तिकरण र सभ्य समाजको निर्माणका लागि हिंसा मुक्त समाज निर्माणमा सबै पक्षको दायीत्त्व उत्तिकै हुन्छ । यसका लागि नीतिगत र व्यवहारिक सुधारको खाँचो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *