Main News

काठमाडौंमा मोटरसाइकल हराउने क्रम बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते २०:५०
काठमाडौंमा मोटरसाइकल हराउने क्रम बढ्दै (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । उपत्यकामा खासगरी अदालत, अस्पताल, बैंक, मालपोतजस्ता सेवाग्राहीको भीड हुने स्थानबाट मोटरसाइकल हराउने क्रम बढ्दै गएको छ । अत्यावश्यक सेवा लिन पुगेका सर्वसाधरण सेवा लिएर बाहिर निस्कँदा सवारी साधन हराएको सूचना टिपाउन १०० डायल गर्न बाध्य हुन्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले गएराति काठमाडौंको बबरमहलबाट मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझायो ।

चालु आर्थिक वर्षमा ५ सय ६३ मोटरसाइकल हराएकोमा २ सय १५ वटा मात्र प्रहरीले भेटायो र त्यसमध्य १ सय ७० वटा मोटरसाइकल धनीलाई जिम्मा लगाएको प्रहरी तथ्याङ्क छ । चोरीका घटना बढ्नुमा केही त सवारीवाला कै लापरबाही देखिने गरेको ट्राफिक प्रहरीको अनुभव छ ।

चोरीमा संलग्न गिरोहले चोरी गरेर ल्याएका मोटरसाइकललाई ग्यारेजमा सुरक्षित राख्ने, रंग र सामान परिवर्तन गर्ने समेत गरेका छन् । चोरीमा संलग्न कोही त मोटरसाइकल वर्कसपका संचालक समेत रहने गरेको ट्राफिक प्रहरीको भनाइ छ । चोरको गिरोहले महङ्गा र पाटपुर्जा परिवर्तन गर्न सजिला हुने खालका मोटरसाइकललाई निसानामा राख्ने गरेका छन् ।

हराएका सवारी साधनलाई छिटो र सहज प्रक्रियाामा सवारी धनीलाई दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटेर टोलीले काठमाडौंका विभिन्न स्थानमा विशेष अपरेशन संचालन गरिरहेको छ । चोरीमा संलग्न धरौटीमा छुट्ने र कारबाहीको पुरानै शैलीले गर्दा पनि एकै व्यक्ति पटक पटक पक्राउ पर्ने गरेका छन् ।

एक दिनमा २ देखि ३ सवारी हराएको उजुरी पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाइ छ । भनिन्छ आफ्नो थैलीको मुख राम्रोसँग बाँधेमा चोरलाई दोष दिन पर्दैन ।

त्यसैले अव्यवस्थित स्थानमा पार्किङ नगर्ने, पार्किङ गर्दा राम्रोसँग लक गर्ने र सवारी साधन किन्दा कागजपत्र नमिलाई सस्तोमा लिने लोभलाई त्याग्ने हो भने पनि सहरमा चोरीका घटनामा कमी आउने थियो । सँगसँगै चोरीका घटनालाई न्यूनिकरण गर्न प्रहरीले पनि आफ्नो सक्रियता बढाइ कार्वाही प्रकृयालाई पनि निर्मम बनाउन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *