आगामी निर्वाचनमा कांग्रेस एक्लै जाने प्रधानमन्त्री देउवाको संकेत
२० मंसिर २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेस एक्लै जान सक्ने संकेत गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा देउवाले अहिले राष्ट्रियसभाको निर्वाचनसम्म मात्र गठबन्धन रहने बताउँदै आम निर्वाचनमा गठबन्धन कायम राख्ने वा नराख्नेबारे छलफल नभएको बताउनुभयो ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन रहेको छ । यही गठबन्धनबाट देउवा नेतृत्वमा सरकार गठन भएको हो ।
माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले भने आगामी निर्वाचनसम्म नै यो गठबन्धन कायम रहने बताउँदै आएका छन् । कांग्रेसभित्र आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने मत बलियो बन्दै आएको छ ।
कांग्रेसको १४औँ महाधिवेशन पछि मात्र गठबन्धनबारे कांग्रेसले निर्णय गर्ने बताएको छ । महाधिवेशनमा आफ्नो सभापतिमा उम्मेदवारी रहने प्रधानमन्त्री देउवाले घोषणा गर्नुभयो ।
उहाँले आफूलाई अन्तिम पटक सभापति बन्नका लागि सहयोग गर्न आग्रह गर्नुभयो । कांग्रेसको विधानले दुई पटकसम्म मात्र सभापति बन्न पाउने व्यवस्था गरेको छ ।
प्रतिक्रिया