Main News

कांग्रेस प्रदेश अधिवेशनः बागमतीमा बानियाँ, प्रदेश १ मा थापा र लुम्बिनीमा पुन विजयी

हिमालय टिभी
२०७८ मंसिर २० गते ७:२०
कांग्रेस प्रदेश अधिवेशनः बागमतीमा बानियाँ, प्रदेश १ मा थापा र लुम्बिनीमा पुन विजयी

२० मंसिर २०७८ काठमाडौं । नेपाल कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विभिन्न प्रदेशस्तरीय नेतृत्वका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएका छन् । सार्वजनिक परिणाम अनुसार बागमतीमा इन्द्रबहादुर बानियाँ, लुम्बिनीमा अमरसिंह पुन र प्रदेश १ मा उद्धव थापा विजयी भएका छन् ।

नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनबाट उहाँले एक हजार ८५ मत प्राप्त गर्नुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिनुभयो । १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसक्नुभएपछि आइतबार पुनः मतदान भएको थियो ।

पहिलो निर्वाचनमा बानियाँले ९९२ मत प्राप्त गर्नुभएको थियो भने केसीले ८७७ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१ प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

आइतबार मतदान हुनुअघि सभापतिका अर्का उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गर्नुभएको थियो ।

त्यसैगरी नेपाली कांग्रेसको प्रथम प्रदेश १ अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले ८४४ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी हुनुभएको कांग्रेस मोरङले जनाएको छ । अन्य पदको मतगणना जारीे छ ।

यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापन इतर पक्षका अमरसिंह पुन विजयी भएका छन्।

संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित भएका हुन्। उनले ८ सय ८२ मत प्राप्त गरे। त्यस्तै स्रस्थापनका शाहले ठ सय ६७ मत पाए।

पदाधिकारीमा पुन प्यानलकै वर्चस्व देखिएको छ। उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ , महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य विजयी भएका छन ।

यस्तै सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *